शोधनान्तर घाटा दुई खर्ब ८८ अर्ब
काठमाडाै., जेठ २७ : देशमा भित्रिनेभन्दा बाहिरिने मुद्राको मात्रामा वृद्धि भएको छ।नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको १० महिनाको विवरण...
काठमाडाै., जेठ २७ : देशमा भित्रिनेभन्दा बाहिरिने मुद्राको मात्रामा वृद्धि भएको छ।
नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको १० महिनाको विवरण अनुसार शोधनान्तर स्थिति रु दुई खर्ब ८८ अर्ब ५० करोडले घाटामा रहेको छ।
अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु सात अर्ब ७५ करोडले बचतमा थियो।
अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा पाँच करोड ५४ लाखले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा दुई अर्ब ४१ करोडले घाटामा रहेको पाइएको छ।
त्यस्तै समीक्षा अवधिमा चालु खाता रु पाँच खर्ब ४७ अर्ब ३६ करोडले घाटामा छ। अघिल्लो वर्षको सोही अवधिमा चालु खाता रु दुई खर्ब ५१ अर्ब २९ करोडले घाटामा रहेको थियो।
समीक्षा अवधिमा पूँजीगत ट्रान्सफर ४१।३ प्रतिशतले कमी आई रु सात अर्ब ९९ करोड कायम भएको छ। यस्तै खुद प्रत्यक्ष वैदेशिक लगानी १८।२ प्रतिशतले वृद्धि भई रु १६ अर्ब ६५ करोड पुगेको छ।
अघिल्लो वर्षको सोही अवधिमा पूँजीगत ट्रान्सफर रु १३ अर्ब ६२ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी रु १४ अर्ब आठ करोड रहेको थियो।











