पहिरोले लमजुङको बेंसीसहरमा दुई घर उच्च जोखिममा
लमजुङ, जेठ २७ : पहाडी जिल्लामा लमजुङको बेंसीसहर नगरपालिका–२ चिसोपानीमा केहीदिनदेखि परेको वर्षाले जमिन भासिदा यहाँका दुई घर उच्च जोखिममा परेको छ।गत २२...
लमजुङ, जेठ २७ : पहाडी जिल्लामा लमजुङको बेंसीसहर नगरपालिका–२ चिसोपानीमा केहीदिनदेखि परेको वर्षाले जमिन भासिदा यहाँका दुई घर उच्च जोखिममा परेको छ।
गत २२ गतेदेखि जान थालेको पहिरो आज बिहान पनि थपिएसँगै जोखिमी बढेको हो। चिसोपानीदेखि बासपानी जाने सडकमाथिदेखि भासिएर लालबहादुर विक र शालिमा विकको घर नजिकै आइपुगेको र दैनिक पानी परेका कारण भासिने क्रम बढदै गएकाले उच्च जोखिममा पुगेको स्थानीयवासी हिरासिंह गुरुङले बताए।
करिब ४० मिटर लामो पहिरो घरनजिकै आइपुग्न करिब दुई मिटर जति बाँकी भएकाले ती घरका परिवार त्रस्त भएको उहाँको को भनाइ थियो।
राति सुत्दा पनि डराई डराई सुत्ने गरेको र बढी पानी आउँदा रातभर जाग्राम बस्न थालेको पीडित लालबहादुरले बताए। उनले भने, 'विगत केही वर्षदेखि अलि अलि पहिरो जाने गरेको थियो तर यसवर्ष त ठूलो पहिरो नै गएर घर नै जोखिम बनाउँदा चिन्ता बढेको छ।'
अर्का रनबहादुर विकको घर गत २२ गते सोही पहिरोले घर भत्काएको थियो। घरमा कुनै मान्छे नबस्ने भएकाले त्यसबेला मानवीय क्षति भने भएन।
त्यस्तै हिरासिंह गुरुङकै कुखुराको फर्म र टनेल पनि जोखिममा पुगेको छ। सो पहिरोका कारण गत २२ गतेयता चिसोपानीदेखि बासँपानी जाने सडक नै अवरुद्ध भइरहेको छ।












