Kathmandu Press

बेनीको खुलामञ्चमा ‘मिनी रङ्गशाला’ बनाउने योजना अलपत्र

बेनीको खुलामञ्चमा ‘मिनी रङ्गशाला’ बनाउने योजना अलपत्र

बेनी, जेठ २६ : म्याग्दीको सदरमुकाम बेनीस्थित खुलामञ्चमा लामो समयदेखि युवाले खेलकुद अभ्यास गर्न पाएका छैनन्।

खुलामञ्चलाई स्तरोन्नति गरी मिनी रङ्गशाला बनाउने काम सुरु भएको वर्षौं बिते पनि बजेट अभावले योजना अलपत्र बनेको छ। खुलामञ्चमा खेल अभ्यास गर्ने खेलाडी यसअघि राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरसम्म पुगिसकेको भए पनि केही वर्षयता खुलामञ्च खेलमैदान प्रयोगविहीन बनेको छ।

Hardik ivf

खुुलामञ्चको पूर्वाधार योजना अलपत्र बनेको र निर्माण सामग्री अव्यवस्थितरुपमा राखिएको कारण विभिन्न समयमा हुँदै आएका खेलकुद प्रतियोगितासमेत प्रभावित बनेका छन् भने बेनीस्थित विभिन्न विद्यालय र क्लबका खेलाडीले खेल अभ्यास राम्रोसँग गर्न पाएका छैनन्। मिनी स्टेडियम बनाउने योजनामा खेलमैदानलाई फराकिलो बनाउने र प्यारापिट बनाउने पूर्वाधारसमेत बीचैमा अलपत्र बनेका छन्।

पूर्वाधार निर्माण योजनाले पूर्णता पाउन नसक्दा युवालाई खेलकुद अभ्यासमा कठिनाइ र फुटबल प्रतियोगिता आयोजना गर्न नपाएको एभग्रीन युवा क्लबका अध्यक्ष नीरज राम्जालीले बताए। 'खुलामञ्चमा पछिल्लो समय खेलकुद अभ्यास गर्न गाह्रो छ, ढुङ्गा, बालुवा र सडक कालापत्रे गर्ने अलकत्रालगायतका सामग्री खुलामञ्चमा राख्दा अभ्यास गर्ने मैदानको स्वरुप बिग्रिएको छ, खेलकुद अभ्यासमा युवा घाइते हुने अवस्था सिर्जना भएको छ,' अध्यक्ष राम्जालीले भने।
    
खुलामञ्चलाई मिनी रङ्गशाला बनाउने योजनासहित अघि बढे पनि बजेटको निरन्तरता नहँुदा पूर्वाधार निर्माण अलपत्र परेको हो। खुलामञ्च खेलमैदान मात्र नभएर व्यापारिक मेला महोत्सव, सांस्कृतिक कार्यक्रम र राजनीतिक सभा हुने स्थल पनि हो। बजेटमा निरन्तरता नहुँदा निर्माणाधीन प्यारापिट अलपत्र छ। सङ्घ, प्रदेश र स्थानीय तहले खुलामञ्चको पूर्वाधार निर्माणमा प्राथमिकता नदिएको युवा क्लबको गुनासो छ।

अलपत्र अवस्थामा रहेको खुलामञ्चलाई पूर्णता दिने गरी बजेटको लागि नगरमा छलफल अघि बढाउने बेनी नगरपालिका–७ का वडाध्यक्ष रमेशकुमार श्रेष्ठले बताए। कालीगण्डकी किनारतर्फ खुलामञ्चलाई फराकिलो बनाउने किसिमले प्यारापिट निर्माणका लागि सुरु गरिएको काम पिल्लर राख्नेमा मात्र सीमित भएको छ।

जिल्ला सदरमुकाम बेनीमा फराकिलो प्यारापिटसहितको स्तरीय रङ्गशाला बनाउने योजनासँगै जिल्ला खेलकुद विकास समितिले २०७४ सालमा डिपिआरसहित रु नौ करोडको लागत अनुमान सार्वजनिक गरेको थियो। कालीगण्डकी र म्याग्दी नदीमा पक्की पर्खाल र पुरानोभन्दा फराकिलो ११/११ जना फुटबल खेल्न मिल्ने खेलमैदान बनाउन ९६ मिटर लम्बाइ र ४५ मिटर चौडाइ भएको मिनी स्टेडियम बनाउने योजना छ। हालसम्म रु तीन करोडभन्दा बढी लगानी भएको खुलामञ्चलाई व्यवस्थित बनाउन रु नौ करोडभन्दा बढी खर्च हुने अनुमान गरिएको छ।

कोरोना कहर र त्यसपछि समेत बजेट विनियोजन नभएपछि खुलामञ्चको पूर्वाधार निर्माण प्रभावित बनेको हो। आर्थिक वर्ष २०७७/०७८ मा यो योजनामा कतैबाट पनि बजेट विनियोजन भएन। आव २०७८/७९ मा पनि विगतमा दिएको आश्वासनअनुसार बजेट विनियोजन नहुँदा खुलामञ्चको स्वरुप फेर्दै रङ्गशाला बनाउने योजना अधुरै बन्ने भएको हो।

प्रकाशित मिति: १८:०६ बजे, बिहीबार, जेठ २६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्