Kathmandu Press

नदी तटबन्धनको काम नसकिँदा जोखिम बढ्ने

सुदूरपश्चिम, जेठ २५ : कर्णाली नदी छेउको कैलालीतर्फको भागमा निर्माणाधीन तटबन्धनको काम पानीको सतह बढ्दा प्रभावित भएको छ। बर्दियातर्फको कर्णाली नदीको भागमा तटबन्धन...
नदी तटबन्धनको काम नसकिँदा जोखिम बढ्ने
Hardik ivf

सुदूरपश्चिम, जेठ २५ : कर्णाली नदी छेउको कैलालीतर्फको भागमा निर्माणाधीन तटबन्धनको काम पानीको सतह बढ्दा प्रभावित भएको छ। बर्दियातर्फको कर्णाली नदीको भागमा तटबन्धन निर्माण गर्न गरिएको पानी डाइभर्सन (पानीको बहाव परिवर्तन) का कारण कैलालीतर्फको तटबन्धन गर्नुपर्ने क्षेत्रमा पानीको सतह बढेर काम प्रभावित भएको बताइएको छ।
 
वर्षायाम सुरु हुन लाग्दा तटबन्धनको काममा पुगिरहेको अवरोधले कैलालीतर्फको भागमा यस वर्ष पनि विपद्को जोखिम बढ्ने देखिएको छ। कैलालीतर्फ तटबन्धन निर्माण भइरहेको ठाउँमा पानीको सतह बढ्दा पुगेको अवरोधले काम पूरा हुन नसकेर सो क्षेत्रमा जोखिम बढ्ने देखिएको कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापाले बताए।
 
कैलाली र बर्दिया जिल्लाको सीमा नदी कर्णालीको बर्दिया राजपुरतर्फको भागमा नदी तटबन्धनसम्बन्धी काम सुस्त गतिमा भइरहेको छ। पानीको बहाव परिवर्तन गरी पालैपालो दुवैतर्फको भागमा नदी तटबन्धनको काम गर्नुपर्ने भए पनि बर्दियातर्फको भागमा काम नसकिँदा कैलालीतर्फको भागमा निर्माणाधीन नदी तटबन्धनको काम प्रभावित भइरहेको जनाइएको छ।

हरेक वर्षायाममा कर्णाली नदीमा आउने बाढीले दुवै जिल्लाको नदी आसपासको मानवबस्ती बाढी, डुबान र कटानको उच्च जोखिमा रहने गरेको छ। सो क्षेत्रमा विपद् जोखिम न्यूनीकरणका लागि भइरहेका कामको कैलालीका प्रजिअ थापाको नेतृत्वको टोलीले आज स्थलगत अध्ययन अवलोकन गरेको छ।
 
'बर्दियातर्फको भागमा नदी तटबन्धनको काममा ढिलाइ हुँदा कैलालीतर्फको भागमा विपद्को जोखिम बढ्ने देखिन्छ,' प्रजिअ थापाले भने, 'निर्माणाधीन तटबन्धनको कामलाई तीव्रता दिनका लागि बर्दियाका प्रमुख जिल्ला अधिकारीलगायतसँग समन्वय गरिएको छ।'
 
वर्षायामा कैलालीको टीकापुर नगरपालिका–१, ५ र ८ नं वडाका साथै जानकी गाउँपालिका–९ कर्णाली नदीले निम्त्याउने विपद्को जोखिममा पर्ने गरेका छन् । प्रमुख जिल्ला अधिकारी थापाको नेतृत्वमा रहेको टोलीमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धानका जिल्लास्थित कार्यालयका प्रमुख सहभागी थिए।
 
निर्माणाधीन राष्ट्रिय गौरवको रानीजमरा कुलरिया सिँचाइ आयोजनाअन्तर्गत कर्णाली नदीको कैलालीतर्फको भागमा नदी तटबन्धनको काम भइरहेको छ। आयोजनाको डिभिजनल इञ्जिनीयर विराट ज्ञवालीले कैलालीतर्फको भागको तटबन्धन गर्नुपर्ने ठाउँमा पानीको सतह बढ्दा काम प्रभावित भइरहेको बताए।

ज्ञवालीले भने, 'बर्दियाको राजापुरतर्फको भागमा पानी ‘डाइभर्सन’ गरेर तटबन्धनको काम भइरहँदा पानीको सतह कैलालीतर्फको भागमा बढ्दा तटबन्धनको कामलाई तीव्रता दिन अवरोध पुगिरहेको छ।'
 
टीकापुर नगरपालिका–२ को भुराखानी, वडा नं ५ को शाहीपुरमा तटबन्धनको काम भइरहेको छ। डुबान कटानको बढी जोखिम रहेको जानकी–९ मा भने बजेट स्रोतको सुनिश्चितता नहुँदा तटबन्धनको काम अगाडि बढाउन सकिएको छैन। स्थानीय पालिकासँग समन्वय गरेर सो क्षेत्रमा विपद् जोखिमको न्यूनीकरणका लागि आपत्कालीन कार्य गर्ने योजना रहेको इञ्जिनीयर ज्ञवालीले बताए।

प्रकाशित मिति: २०:५३ बजे, बुधबार, जेठ २५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्