छांगरुमा नेपाल टेलिकमको फोरजी, तिंकरमा एनटिसेट जडान
दार्चुला, जेठ २५ : दार्चुलाकाे व्यास गाउँपालिका–१ छाङ्गरुको ज्याक्तीमा नेपाल टेलिकमको फोरजी सहितको टेलिफोन टावर जडान सुरु गरिएको छ। चीनको सीमा नजिकको गाउँ...
दार्चुला, जेठ २५ : दार्चुलाकाे व्यास गाउँपालिका–१ छाङ्गरुको ज्याक्तीमा नेपाल टेलिकमको फोरजी सहितको टेलिफोन टावर जडान सुरु गरिएको छ। चीनको सीमा नजिकको गाउँ तिङ्करमा भिसेट एनटिसेट जडान गरिएको छ। नेपाल टेलिकमले तिङ्कर गाउँमा दुई लाइन एनटिसेट लाइन जडान गरेको हो।
सञ्चार सम्बन्धबाट टाढा रहेको व्यासको तिङ्कर गाउँमा पहिलो पटक भिसेट एनटिसेट जडान गरिएको व्यास–१ का वडासचिव विनोदसिंह बुढाथोकीले जानकारी दिनुभयो। यसअघि छांगरुमा सशस्त्र प्रहरी र स्थानीयवासीका लागि भन्दै एनटिसेट लाइन जडान गरिएको थियो। छांगरुमा स्काई फोन पनि सञ्चालनमा छ। छाङ्गरुमा फोरजीसहितको नमस्तेको लाइन जडानको तयारी छ।
सामरिक महत्व बोकेको छाङ्गरु र तिंकरमा पछिल्लो समय टेलिकमका प्रमुख कृष्णबहादुर गुरुङले आफैँ खटिएर टेलिफोन सेवा सञ्चालन गरेका छन्। 'स्काई फोन पनि केही दिनदेखि अवरुद्ध रहेको थियो,' सशस्त्र प्रहरी बल नेपाल ५० गुल्मका गुल्मपति धीरेन्द्र शाहले भने, 'अहिले कार्यालय प्रमुख आएर सञ्चालन गरेका छन्, छांगरुको ज्याक्ती डाँडामा फोरजी जडान हुँदैछ, सोलार ब्याट्री अपुग भएका कारण केही समय लाग्नेछ।'
तिङ्कर गाउँमा भने ल्यान्डलाइन सञ्चालन गरिएको छ। अहिले तिङ्कर गाउँका लागि ९९४९३००५० र ९९४९३००५१ नम्बर सञ्चालन गरिएको वडा सचिव बुढाथोकीले जानकारी दिनुभयो। यसअघि यहाँका नागरिकले फोन सेवाबाट बञ्चित हुनुपरेको थियो। छाङ्गरुमा फोन लागे पनि तिंकरमा फोन लाग्दैन थियो।
टेलिकमको फोरजी सेवा सञ्चालन भए छांगरु मात्र नभई कालापानी, कुटी गुञ्जी नाभी लगायतका क्षेत्रसम्म नेपाली फोनको पहुँच हुनेछ। ज्याक्ती डाँडाबाट कालापानी, गुञ्जी कुटी गाउँ सहजै देख्न सकिन्छ। सबैभन्दा अग्लो डाँडामा रिपिटर टावर राखिएका कारण भारतीय गाउँतिर कभरेज बढ्नेछ।











