सुस्तश्रवण भएका व्यक्तिले पाए डिजिटल श्रवणयन्त्र
झापा, जेठ २२ : नेपाल सुस्त श्रवण संघ प्रदेश १ ले ६३ जना सुस्तश्रवण भएका व्यक्तिलाई डिजिटल श्रवणयन्त्र वितरण गरेको छ।कनकाई नगरपालिकाकोे हिमाली...झापा, जेठ २२ : नेपाल सुस्त श्रवण संघ प्रदेश १ ले ६३ जना सुस्तश्रवण भएका व्यक्तिलाई डिजिटल श्रवणयन्त्र वितरण गरेको छ।
कनकाई नगरपालिकाकोे हिमाली माध्यमिक विद्यालयमा दुई दिने शिविरको आयोजना गरी झापा, मोरङ र इलामका सुस्तश्रवणका व्यक्तिलाई करिब ३० देखि ८० हजारसम्म पर्ने डिजिटल श्रवणयन्त्र वितरण गरेको हो।
संघले शुक्रवार र शनिवार शिविर आयोजना गरी वरिष्ठ कान विशेषज्ञ डा केशवमान डंगोलद्वारा ७७ जनाको कानको श्रवण क्षमता जाँच गरी सो श्रवणयन्त्र वितरण गरेको हो।
सो यन्त्र आठ वर्षका वालबालिकादेखि ९३ वर्षका ज्येष्ठ नागरिकसम्मलाई वितरण गरिएको सुस्त श्रवणसंघ प्रदेश नम्बर १ का अध्यक्ष हरिप्रसाद अधिकारीले बताए।
शिविरका लागि प्राविधिक र अन्य सहयोग भने नेपाल सुस्त श्रवण संघको रहेको उनले बताए। संघले प्रदेशका अन्य जिल्लामा समेत शिविरको आयोजना गरी श्रवणयन्त्र वितरण गर्ने जनाइएको छ।
उनका अनुसार गत कात्तिक महिनामा समेत जिल्लाका ४२ जना सुस्तश्रवण भएका व्यक्तिहरुलाई डिजिटल श्रवणयन्त्र वितरण गरिएको थियो।