Kathmandu Press

कृषि विश्वविद्यालयका सय विद्यार्थी इजरायल जाँदै

चितवन, जेठ २३ : कृषि तथा वन विज्ञान विश्वविद्यालय (एएफयु) मा स्नातक तह अन्तिम वर्षमा अध्ययनरत एक सय विद्यार्थी इजरायल जाने भएका छन्।एएफयू...
कृषि विश्वविद्यालयका सय विद्यार्थी इजरायल जाँदै

चितवन, जेठ २३ : कृषि तथा वन विज्ञान विश्वविद्यालय (एएफयु) मा स्नातक तह अन्तिम वर्षमा अध्ययनरत एक सय विद्यार्थी इजरायल जाने भएका छन्।

एएफयू र इजरायलको रामत नेगभ इन्टरनेस्नल ट्रेडिङ सेन्टरको सहकार्यमा यहाँका विद्यार्थी पठाउन लागिएको हो। 

विश्वविद्यालयले छनोट समिति बनाएर इजरायल जाने विद्यार्थी छनोट गरेको हो। विश्वविद्यालयका योजना निर्देशक एवं छनोट समितिका सदस्य सचिव डा शिवचन्द्र ढकालका अनुसार एग्रिकल्चर वर्क-स्टडी कार्यक्रमअन्तर्गत इजरायल जानका लागि विद्यार्थी छनोट भएका हुन्।

Hardik ivf

विद्यार्थीलाई इजरायल पठाउन विश्वविद्यालयका सङ्काय तथा आङ्गिक क्याम्पसमा अध्ययनरत विद्यार्थीबाट आवेदन माग गरिएको थियो।

ढकालका अनुसार कार्यक्रममा सहभागी हुन २७३ जना विद्यार्थीले आवेदन दिएका थिए। त्यसमध्ये १६८ जना विद्यार्थी गोलाप्रथाको माध्यमबाट अन्तर्वार्ताका लागि छनोट भएका थिए। 

तीमध्ये अन्तवार्तामा सहभागी १२५ जनाबाट एक सय छनोट गरी २५ जनालाई बैकल्पिकमा राखिएको छ। नेपालका लागि इजरायलका राजदूत हनान गोडर र इजरायलका लागि नेपालका राजदूत डा कान्ता रिजालको उपस्थितिमा विद्यार्थीको अन्तर्वार्ता लिइएको थियो। 

ती विद्यार्थी ११ महिना इजरायल बस्ने छन्। त्यहाँ रहँदा पाँच दिन काम, एक दिन अध्ययन र एक दिन बिदा पाउने गरी सम्झौता भएको छ। काम गरेबापत एक जना विद्यार्थीले रु १२ लाख हाराहारी रकमसँगै प्रविधि र सिप लिएर आउने विश्वविद्यालयको अपेक्षा रहेको छ।

 विश्वविद्यालयका उपकुलपति प्रा डा पुण्यप्रसाद रेग्मीका अनुसार त्यहाँ सिकेको सीप र रकम लिएर फर्कने विद्यार्थी यहाँ आएपछि एकल र समूहगत रुपमा काम गर्न सक्नेछन्।

स्नातक अन्तिम वर्षको परीक्षा दिएर जाने ती विद्यार्थीले फर्किएपछि मात्र विश्वविद्यालयबाट शैक्षिक प्रमाणपत्र पाउने छन्। विद्यार्थी त्यहाँ नबसुन् भन्नका लागि शैक्षिक प्रमाणपत्र विश्वविद्यालयले रोकेर राख्न लागेको हो।

कृषि शिक्षातर्फ आकर्षण घट्न नपाओस् भन्नका लागि यो कार्यक्रम अघि बढाइएको उनी बताउँछन्। पहिलोपटक विश्वविद्यालयले यो कार्यक्रम गर्न लागेको हो। साउनको अन्तिम सातासम्ममा विद्यार्थी जाने गरि तयारी गरिएको छ।  

प्रकाशित मिति: १२:३९ बजे, सोमबार, जेठ २३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्