वातावरण दिवसमा वाग्मती किनारमा वृक्षरोपण
काठमाडौं, जेठ २३ : काठमाडौं उपत्यकाको सभ्यताको स्रोत वाग्मती नदीलाई स्वच्छ बनाउने उद्देश्यले विश्व वातावरण दिवसका अवसरमा शङ्खमूलको वाग्मती किनारमा वृक्षरोपण गरिएको छ।वाग्मती...
काठमाडौं, जेठ २३ : काठमाडौं उपत्यकाको सभ्यताको स्रोत वाग्मती नदीलाई स्वच्छ बनाउने उद्देश्यले विश्व वातावरण दिवसका अवसरमा शङ्खमूलको वाग्मती किनारमा वृक्षरोपण गरिएको छ।
वाग्मती सफाइ महाअभियानको आयोजनामा भएको वृक्षरोपणमा समी, आँप, तेजपत्ता, एभाकाडो, कपुर, फूलका करिब तीन दर्जन बिरुवा रोपिएको हो।
वृक्षरोपणमा नायक पुष्प खड्का, हास्य कलाकार हिमेश पन्त, काठमाडौँ महानगरपालिका–११ का अध्यक्ष हीरालाल तण्डुकार, वडा नं ९ का सदस्य टेकराज अधिकारीलगायत सफाइ अभियानकर्मीको सक्रियता थियो।
संयुक्त राष्ट्र सङ्घले सन् १९७२ देखि प्रत्येक वर्ष जुन ५ को अवसर पारेर विभिन्न कार्यक्रम आयोजना गरी विश्व वातावरण दिवस मनाउन सुरु गरेको हो।
राष्ट्र सङ्घले वातावरण दिवस मनाउन सुरु गर्नुअघिदेखि नै नेपालमा सिठी नख पर्वका अवसरमा विशेषगरी पानीका मुहान सफा गर्ने परम्परा रहेको अभियानकर्मी नरेन्द्रबहादुर श्रेष्ठले जानकारी दिए।
मेची महाकाली सफाइ अभियानले पनि यस अवसरमा देशका विभिन्न भाग वृक्षरोपण गरेको अभियानकर्मी चक्रबहादुर चन्दले जानकारी दिए।
दक्षिण एशियाली समूह नामक संस्थाले पनि यस अवसरमा विभिन्न स्थानमा वृक्षरोपण गरेको जनाइएको छ। गत वर्ष यो कार्यक्रमको संयोजन नेपालले गरेको थियो।
यसवर्ष भने यसको नेतृत्व भारतका अभियानकर्मी सुमन बस्नेतले गर्नुभएको छ। यस अवसरमा नेपालसहित बङ्गलादेश, भारत, भुटान, म्यानमारलगायत देशमा वृक्षरोपण गरिएको छ।
पृथ्वीमा निरन्तर भइरहेको वातावरणीय विनाश रोक्नु कार्यक्रमको उद्देश्य रहेको छ। वातावरणीय सन्तुलनका लागि बिरुवाले सहयोग गर्ने भएकाले दक्षिण एसिया क्षेत्रमै समूह बनाएर यो कार्यक्रम गत वर्षदेखि अघि बढाइएको हो।












