दार्चुलामा जिससकाे निर्वाचन जेठ ३० मा
दार्चुला, जेठ २२ : जिल्ला समन्वय समिति (जिसस) दार्चुलाको निर्वाचन यही जेठ ३० गते हुने भएको छ।स्थानीय तहको निर्वाचन सम्पन्न भएको एक महिनाभित्र...
दार्चुला, जेठ २२ : जिल्ला समन्वय समिति (जिसस) दार्चुलाको निर्वाचन यही जेठ ३० गते हुने भएको छ।
स्थानीय तहको निर्वाचन सम्पन्न भएको एक महिनाभित्र उक्त समितिको चुनाव र्नुपर्ने प्रावधानअनुसार निर्वाचनका लागि मिति तय गरिएको होे।
मुख्य निर्वाचन अधिकृत कोमलप्रसाद आचार्यकाअनुसार नौ सदस्यीय समितिमा एक प्रमुख, एक उपप्रमुख, तीन महिला सदस्य, एक दलित वा अल्पसङ्ख्यक सदस्य र तीन खुला सदस्य हुनेछन्। निर्वाचनमा नगरपालिकाका प्रमुख र उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षले मतदान गर्नेछन्।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले शुक्रबार निर्वाचत कार्यतालिका सार्वजनिक गरेकामा आज मतदाता नामावली प्रकाशन, भोलि मतदाता नामावली सच्याउने तथा छुटेको भए सच्याउने, २४ गते संशोधित नामावली प्रकाशन, २५ गते दाबी विरोध, २६ गते उजुरीमाथि छानबिन गरी २७ गते अन्तिम नामावली प्रकाशन गरिने भएको छ।जेठ २८ गते उम्मेदवारी मनोनयन दर्ता र उम्मेदवारको सूची प्रकाशन,उम्मेदवार बिरुद्ध दाबी विरोधको जाँच हुनेछ।
यस्तै जेठ २९ गते उम्मेदवारको नामावली प्रकाशन, उम्मेदवारी फिर्ता र उम्मेदवारको अन्तिम नामावली प्रकाशन र ३० गते निर्वाचन गर्ने कार्यतालिका सार्वजनिक गरिएको छ। जिल्लामा समन्वय समितिका पदाधिकारीको निर्वाचनका लागि कुनै एक दलको बहुमत नभएकाले गठबन्धन गर्नुपर्ने बाध्यता छ। नौ वटा स्थानीय तह रहेको दार्चुलामा समन्वय समितिका लागि १८ मतभार छ।
स्थानीय तहको निर्वाचनमा पनि नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले गठबन्धन गरेकाले समन्वय समितिको निर्वाचनमा पनि दुवै दलले गठबन्धन गर्ने सम्भावना छ। दुवै दलले गठबन्धन गरेमा उनीहरूसँग स्पष्ट बहुमत पुग्छ।
जिल्लामा (नेकपा माओवादी केन्द्र) को चार स्थानीय तह प्रमुख र दुई स्थानीय तह उपप्रमुखसहित छ मतभार छ भने नेपाली कांग्रेसको चारवटा स्थानीय तह उपप्रमुखसहित चार मतभार छ।
नेकपा एमालेको पाँच स्थानीय तह प्रमुख र तीन स्थानीय तह उपप्रमुखसहित आठ मतभार रहेको छ। नेकपा माओवादी केन्द्रले अपिहिमाल, नौगाड, मार्मा र लेकम गाउँपालिकामा अध्यक्ष र मालिकार्जुन र व्यास गाउँपालिका उपाध्यक्ष पद जितेको छ।
नेपाली कांग्रेसले अपिहिमाल, मार्मा, नौगाड र दुहुँ गाउँपालिकामा उपाध्यक्ष जितेको छ। एमालेले महाकाली नगरपालिका र शैल्यशिखर नगरपालिकामा प्रमुख तथा उपप्रमुख, व्यास, दुहुँ मालिकार्जुन गाउँपालिकामा अध्यक्ष र लेकम गाउँपालिका उपाध्यक्ष जितेको छ।












