Kathmandu Press

युवक मृत भेटिएपछि अछाममा उत्पन्न तनाव सामान्य बन्दै

अछाम, जेठ २३ : अछामको पञ्चदेवल विनायक नगरपालिका–४ मा एक युवक मृत भेटिएको घटनालाई लिएर गरिएको प्रदर्शनपछि उत्पन्न तनाव सामान्य बन्दै गएको छ।यही...
युवक मृत भेटिएपछि अछाममा उत्पन्न तनाव सामान्य बन्दै

अछाम, जेठ २३ : अछामको पञ्चदेवल विनायक नगरपालिका–४ मा एक युवक मृत भेटिएको घटनालाई लिएर गरिएको प्रदर्शनपछि उत्पन्न तनाव सामान्य बन्दै गएको छ।

यही जेठ १७ गतेदेखि बेपत्ता रहेका पञ्चदेवल विनायक नगरपालिका–४ का १७ वर्षीय विनोद शाही नजिकैको भिरमा शनिबार मृत भेटिएका थिए। उनको हत्या गरिएको भन्दै स्थानीयवासीले प्रदर्शन गरेका थिए। प्रदर्शनका क्रममा प्रहरी कार्यालय र प्रहरीको गाडीमा तोडफोड गर्न थालेपछि स्थिति तनावग्रस्त बनेको थियो।

Hardik ivf

प्रमुख जिल्ला अधिकारी विश्वराज मरासिनीले प्रदर्शनकारी तोडफोडमा उत्रेपछि उत्पन्न परिस्थितिलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास र हवाई फायरसमेत गर्नुपरेको बताए। प्रदर्शनकारीले प्रहरीलाई घटनास्थलसम्म पुग्न नदिएर प्रहरी कार्यालय र गाडीमा तोडफोड गर्न गरेका थिए। शनिबार बेलुका घटनास्थलमा पुगेर शव उठाउन दिइएपछि घटनाको अनुसन्धान थालिएको उनले बताए।

प्रदर्शनकारीले नगरपालिकाका प्रमुख र वडाध्यक्षले घटना घटाएको आरोप लगाएका छन्। गत वैशाख ३० गते भएको स्थानीय चुनावका दिन सो क्षेत्रमा नेपाली कांग्रेस र एमाले कार्यकर्ताबीच विवाद र झै–झगडा भएको थियो। यही जेठ १७ गते पनि सो क्षेत्रमा एमाले र कांग्रेस कार्यकर्ताबीच झगडा भएको थियो।

मृतक एमाले निकटका युवा रहेको जनाइएको छ। एकअर्कामा आरोपप्रत्यारोप गरी घटनालाई राजनीतिक रङ दिन खोजिएको प्रजिअ मरासिनीले बताए। (रासस)

 

प्रकाशित मिति: ०८:१० बजे, आइतबार, जेठ २२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्