Kathmandu Press

गठबन्धनमा इमान्दारिता भएन : अध्यक्ष डा भट्टराई

गाेरखा, जेठ २१ : जनता समाजवादी पार्टीका सङ्घीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले गठबन्धनमा इमान्दारिता नभएका कारण निर्वाचनमा आफ्नो पार्टीले अपेक्षाकृत नतिजा ल्याउन...
गठबन्धनमा इमान्दारिता भएन : अध्यक्ष डा भट्टराई

गाेरखा, जेठ २१ : जनता समाजवादी पार्टीका सङ्घीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले गठबन्धनमा इमान्दारिता नभएका कारण निर्वाचनमा आफ्नो पार्टीले अपेक्षाकृत नतिजा ल्याउन नसकेको बताएका छन।

जिल्लाको चुनावी समीक्षा गर्न आज यहाँ आएका उनले पत्रकारसँग कुराकानी गर्दै निर्वाचनमा पराजयको मुख्य कारण पार्टीको आन्तरिक कारण भए पनि अर्को कारण गठबन्धनमा नै भएको बताए।

Hardik ivf

'विकास र विनाशको मुख्य कुरा आन्तरिक हुन्छ भन्ने सिद्धान्तमा म विश्वास गर्छु, त्यसमा केही हाम्रा सीमा पनि रहे त्यो प्रमुख कारण हो,' उनले भने, 'जुन ढङ्गले गठबन्धन गरियो गठबन्धनमा पनि इमान्दारिता भएन।' डा भट्टराईले गठबन्धनको धर्मअनुसार एकपटक निर्णय गरेपछि त्यसलाई पूर्णरुपमा कार्यान्वयन गर्नुपर्नेमा त्यसो हुन नसक्दा समस्या आएको बताए।

गठबन्धनका दलको लोकतान्त्रिक मूल्यमान्यता र नैतिक आचारणविपरितको कार्यले गठबन्धन गरेर पनि पार्टीले अपेक्षित नतिजा ल्याउन नसकेको आरोप लगाए। उनले नेपालको संविधानले नै मिश्रित निर्वाचन प्रणालीको व्यवस्था गरेकाले देशमा चुनावी गठबन्धन अझै पनि आवश्यक रहेको भने स्पष्ट पारे।

'प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा जानुपर्छ भनेर हामीले भनिरहेका छौँ,' पूर्वप्रधानमन्त्रीसमेत रहेका डा भट्टराईले भने, 'त्यो नभएसम्म अहिलेको निर्वाचन प्रणालीमा कुनै पनि दलको प्रष्ट बहुमत आउन नसक्ने हुँदा गठबन्धन गर्नु वा चुनावी तालमेल गर्नु आवश्यक छ।'

उनले पटक्कै विचार नमिल्ने शक्तिबीच गठबन्धन भनेर अघि बढ्दा गतिहिनता र अस्तव्यस्तता आएकाले अब पुनःविचार गर्नुपर्ने बेला आएको बताए। 'वैचारिकरुपमा सापेक्ष ढङ्गले एकरुपमा भएका वा निकट भएका शक्ति बीचमा गठबन्धन तालमेल भयो भने दिगो हुन्छ, नीति कार्यक्रम लागू गर्न पनि सहज हुन्छ,' अध्यक्ष डा भट्टराईले भने, 'जुन शक्तिका बीचमा आधारभूत नीति नै मिल्दैन, आर्थिक नीति, विदेश नीति, देशको लोकतान्त्रिक ढाँचासम्बन्धी नीति नै मिल्दैन त्यस्ता शक्ति एकै ठाउँमा बस्यो भने त्यसले क्षणिक चुनावी लाभ हुन्छ, सरकार बन्छ तर त्यसले काम गर्न सक्दैन।'

जसपा कम्युनिष्ट शक्ति नभएको भन्दै उनले लोकतन्त्रमा आधारित समाजवादलाई विश्वास गर्ने शक्ति भएकाले लोकतन्त्र र समाजवादलाई सँगसँगै लैजानुुपर्छ भन्ने पक्षमा आफूहरु रहेको बताए। 'लोकतान्त्रिक शक्ति जसले अग्रगामी प्रगतिशील सोच राख्दछन्, त्यस्ता शक्ति बीचको गठबन्धन दिगो हुन्छ भन्ने हाम्रो बुझाइ हो,' डा भट्टराईले भने।

प्रकाशित मिति: १८:१६ बजे, शनिबार, जेठ २१, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्