अस्ट्रेलियाली प्रधानमन्त्रीले आइतबार इन्डोनेसिया भ्रमण गर्ने
क्यानबेरा, जेठ २१ : अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बेनिजले दुई राष्ट्रबीच सम्बन्ध बढाउन आइतबारदेखि इन्डोनेसियाको भ्रमण गर्ने पुष्टि गरेका छन्। मे २१ मा भएको आम...
क्यानबेरा, जेठ २१ : अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बेनिजले दुई राष्ट्रबीच सम्बन्ध बढाउन आइतबारदेखि इन्डोनेसियाको भ्रमण गर्ने पुष्टि गरेका छन्।
मे २१ मा भएको आम निर्वाचनमा आफ्नो लेबर पार्टी विजय भएपछि अल्बेनिज विदेशमन्त्री पेनी वोङ, व्यापार मन्त्री डन फारेल र उद्योग मन्त्री एडि हुसिकसहित आइतबार इन्डोनेसियाको भ्रमण गर्न लागेका हुन्।
इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोसँग नेताहरूको नियमित वार्षिक भेटका लागि उनीहरू इन्डोनेसिया जाने भएका हुन्।
तीन दिने यात्रा मुख्यतया दुई देशबीचको आर्थिक सम्बन्धमा केन्द्रित हुने बताइएको छ। सन् २०२० को प्रारम्भमा ऐतिहासिक इन्डोनेशिया–अस्ट्रेलिया व्यापक आर्थिक साझेदारी सम्झौता (आईए–सीईपीए) अनुमोदन भएपछि कोरोनाभाइरस महामारीको कारण कार्यान्वयनमा ल्याउन रोकिएको थियो।
निर्वाचन अभियानका क्रममा लेबर पार्टीले सरकार बनाएमा अल्बेनिजले इण्डोनेशियासँगको सम्बन्धलाई महत्व दिँदै अन्य मुलुकसँगको विदेश नीति लाई प्राथमिकता दिने प्रतिज्ञा गरेका थिए।
शुक्रबारको एक वक्तव्यमा उनले भने, 'इण्डोनेसिया हाम्रा सबैभन्दा नजिकका छिमेकीहरूमध्ये एक हो। यही कारण मैले सकेसम्म चाँडै भ्रमण गर्ने प्रतिबद्धता व्यक्त गरेँ।'
उनले भने, 'आफ्नो भ्रमणका क्रममा दुई मुलुकको व्यापारिक सम्बन्धलाई पुनर्जीवन दिने र जलवायु, पूर्वाधार र ऊर्जा सहयोगलाई प्रवद्र्धन गर्ने लगायतका सम्बन्धलाई थप विकास गर्न म उत्सुक छु।"
आई ए–सीइपीएले अस्ट्रेलियाको ९९ प्रतिशत निर्यातमा शुल्क खारेज गर्ने वा कटौती गर्ने र इन्डोनेसियाली युवालाई अस्ट्रेलियामा काम गर्न र अध्ययन गर्न सजिलो बनाएको उनको दाबी छ।
तथापि, व्यापारिक सम्झौता लाई अनुमोदन गरेको केही समयपछि फैलिएको कोभिड–१९ महामारीका कारण जारी सीमा प्रतिबन्धले यसलाई निकै प्रभावित बनाएको थियो।
अल्बेनिजले दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको एसोसिएशन ९आसियान०का महासचिव डाटो लिम जोक होइसँग पनि भेट्ने कार्यक्रम तय भएको छ।












