नाटो महासचिवसँग रुस –युक्रेन युद्धबारे अमेरिकी राष्ट्रपति र उपराष्ट्रपतिको छलफल
वासिङ्टन, जेठ २० : अमेरिकी राष्ट्रपति जो बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसले उत्तर एटलाण्टिक सन्धि सङ्गठन (नाटो)का महासचिव जेन्स स्टोल्टनबर्गसँग रुस र युक्रेनबीचको युद्धका...
वासिङ्टन, जेठ २० : अमेरिकी राष्ट्रपति जो बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसले उत्तर एटलाण्टिक सन्धि सङ्गठन (नाटो)का महासचिव जेन्स स्टोल्टनबर्गसँग रुस र युक्रेनबीचको युद्धका कारण उत्पन्न परिस्थिति, त्यसको प्रभाव र सुरक्षाबारे छलफल गरेका छन्।
राष्ट्रपति बाइडेन र उपराष्ट्रकमला ह्यारिसले यसै महिनाको अन्त्यमा म्याड्रिडमा हुने नाटो शिखर सम्मेलनको तयारीका सन्दर्भमा महासचिवसँग छलफल गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ।
‘उनीहरूले नाटो सदस्यताका लागि फिनल्याण्ड र स्वीडेनको आवेदनको स्वागत गरे, राष्ट्रपतिले सबै सहयोगीहरूको सुरक्षा चिन्तालाई सम्बोधन गर्ने द्रुत पहुँच प्रक्रियालाई सहज बनाउन महासचिव स्टोल्टेनवर्गले गरेको प्रयासको दृढ समर्थन गरे,’ राष्ट्रपतिको कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले महासचिव स्टोल्टेनबर्गसँग बेग्लै भेटवार्ता गरेका छन्। यसैबीच, अमेरिकी वाणिज्य विभागको ब्यूरो अफ इन्डस्ट्री एन्ड सेक्युरिटी (बीआईएस) ले आज एक सूचना जारी गरी विमान र जहाज निर्माण कम्पनीसहित ७१ नयाँ कालोसूचीमा परेका रूसी संस्थाहरूको नाम प्रकाशन गरेको छ।












