झापाका १३ पालिकाको कार्यपालिकाले पाए पूर्णता

काठमाडाैं, जेठ १९ : स्थानीय तह निर्वाचनअन्तर्गत जिल्लाका १३ पालिकाले पूर्णता पाएका छन् भने दुईवटा पालिकाले पूर्णता पाउन बाँकी छ।
शिवसताक्षी नगरपालिका र कमल गाउँपालिकामा भने निर्वाचन हुन बाँकी रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयका अधिकृत गणेश पाण्डेले बताउनुभयो। उहाँका अनुसार मेचीनगर, विर्तामोड, अर्जुनधारा, गौरादह, कनकाई, भद्रपुर, दमक नगरपालिकामा भने निर्वाचन भइसकेको छ।
त्यसैगरी, बुद्धशान्ति, हल्दिबारी, झापा, बाह्रदशी, कचनकवल, गौरीगञ्जलगायतका पालिकाले पूर्णता पाएको छ। उहाँका अनुसार भद्रपुर नगरपालिका भने आज निर्वाचन भएको छ।
पालिकामध्ये नगरपालिकामा अल्पसङ्ख्यक, दलित गरी तीन र पाँच महिला सदस्य निर्वाचित भएका छन् भने गाउँपालिकामा चार महिला सदस्य र दुई अल्पसङ्ख्यक तथा दलित निर्वाचित भएका छन्।
बाँकी रहेको स्थानमा समेत भोलिसम्ममा निर्वाचन गरिसकिने उहाँको भनाइ थियो। जिल्ला समन्वय समितिको निर्वाचनमा पालिकाका प्रमुख र उपप्रमुखले भाग लिनेछन्।
वैशाख ३० गते भएको निर्वाचनबाट जिल्लामा नेकपा ९एमाले०बाट सात प्रमुख, उपप्रमुख ११, नेपाली कांग्रेस छ प्रमुख, तीन उपप्रमुख र राप्रपाबाट दुई प्रमुख र एक उपप्रमुख निर्वाचित भएका छन्।
जिल्ला समन्वय समितिको नेतृत्व बनाउन झापामा एमाले एक्लैको बहुमत पुग्ने निर्वाचितहरूको तथ्याङ्कले देखाएको छ।











