‘अध्ययनबिनाको बजेट कार्यक्रम कार्यान्वयनमा समस्या आउँछ’
काठमाडाैं, जेठ १९ : एसियाली विकास बैंक (एडिबी) का वरिष्ठ अर्थशास्त्री समीर खतिवडाले आयोजनाको अध्ययन र प्रर्याप्त तयारी बिना बजेटमा समावेश गरिएका कतिपय...
काठमाडाैं, जेठ १९ : एसियाली विकास बैंक (एडिबी) का वरिष्ठ अर्थशास्त्री समीर खतिवडाले आयोजनाको अध्ययन र प्रर्याप्त तयारी बिना बजेटमा समावेश गरिएका कतिपय कार्यक्रम कार्यान्वयनमा समस्या आउने औंल्याएका छन्।
नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आज ‘बजेट तथा योजना तर्जुमा’ विषयमा गरेको अन्तक्रियामा उनले बजेटमा समावेश गरिएका कतिपय लोकप्रिय कार्यक्रमको सफल कार्यान्वयनका लागि तयारी कस्तो छ त्यसमै भर पर्ने धारणा राखे।
अर्थशास्त्री खतिवडाले भने, 'बजेटमा समावेश गरिएका धेरैजसो कार्यक्रम लोकप्रिय र सान्दर्भिक देखिन्छन् तर त्यसको व्यfवहारिक कार्यान्वयन कसरी हुन्छ भन्ने मुख्य प्रश्न हो, बिनाअध्ययन गरिएका कतिपय कार्यक्रम कार्यान्वयनमा समस्या उत्पन्न हुनसक्छ। त्यसैले जुनसुकै कार्यक्रम योजना तर्जुमा गर्दा त्यसको पृष्ठभूमि र भविष्यबारे अध्ययन र समीक्षा गरेर समावेश गरिए मात्रै फलदायी हुन्छ।'
बजेट योजना कार्यान्वयनसम्बन्धी अन्तर्राष्ट्रिय अभ्यास र सफल कार्यान्वयन गर्ने मुलुकको उदाहरण पेस गर्दै उनले पर्याप्त अध्ययन र बिना तयारी ल्याइएका परियोजना कार्यान्वयमा चुनौती आउने तथा यसले देशको आर्थिक विकासमा समस्या उत्पन्न हुने खतरा औंल्याए।
उनले नेपालको बजेट कार्यक्रम ‘आइडेन्टिफिकेसन, इभ्यालुसन र इम्प्लिटेशन’ जस्ता तीन विषयमा चुकेका कारण नै हरेकजसो बजेट सफल कार्यान्वयन हुन नसकेको टिप्पणी गरे।
आव २०७९÷८० बजेटमा उत्पादन विशेष त्यसमा पनि प्रदेश विशेष उत्पादनलाई प्राथमिकता दिइनु स्वागतयोग्य कुरा हो भन्दै उहाँले तदसम्बन्धी योजना कार्यक्रम कार्यान्वयनका आधार के र कसरी हुन्छ भनी प्रश्न गरे। खतिवडाले निर्यात प्रवद्र्धनमा आकर्षक कार्यक्रम ल्याउन नसकिएको र निजी क्षेत्र पनि अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी नभएकाले नेपालमा हरेक वर्ष आयात बढेर व्यापार घाटा भइरहेको उल्लेख गरे।
छिमेकी मुलुकसँग व्यापार घाटा कम गर्ने उपाय खोजेर उत्पादनमूलक उद्योगको प्रवर्धन गरिएको खण्डमा देशको अर्थतन्त्र सुधार हुने उनको भनाइ छ।
उनले नेपालको आर्थिक विकासलाई तीव्रगतिमा अघि बढाउन कृषि उत्पादन, उत्पादनमूल उद्योगको विस्तार र प्रवद्र्धन तथा सूचना प्रविधि तथा सेवामूलक क्षेत्रलाई सँगै अघि बढाउनुपर्नेमा जोड दिए।
'सेवाक्षेत्र र उद्योगलाई सँगै अघि बढाउन सकिए मात्र नेपालको अर्थतन्त्रले प्र्रगति हासिल गर्छ, उत्पादनमूलक उद्योगलाई प्राथमिकता दिएकै कारण, सिङ्गापुर, स्वटीजरल्याण्डजस्ता मुलुकले आर्थिक प्रगति गरेका हुन्, नेपालले पनि विकासको प्रक्रियामा ती मुलुकका असल अभ्यासलाई अवलम्बन गरेर अर्थतन्त्रको दायरालाई फराकिलो बनाउने प्रसस्त आधार छन्,' उनले भने।











