पहिले कार्यालय सहयोगी, अहिले नरेनापुरका वडाध्यक्ष
बाँके, जेठ १९ : बाँकेको नरेनापुर गाउँपालिकामा फरक भूमिका रहेका ३५ वर्षीय अजयकुमार मिश्राको परिचय अहिले फेरिएको छ। कार्यालय सहयोगीका रुपमा काम गर्दै...
बाँके, जेठ १९ : बाँकेको नरेनापुर गाउँपालिकामा फरक भूमिका रहेका ३५ वर्षीय अजयकुमार मिश्राको परिचय अहिले फेरिएको छ। कार्यालय सहयोगीका रुपमा काम गर्दै आएका उनी अहिले जनता समाजवादी पार्टी (जसपा) का तर्फबाट उक्त गाउँपालिका–३ को वडाध्यक्ष निर्वाचित हुनुभएको हो।
मिश्राले गाउँपालिकामा नेकपा एमालेका ताजमोहम्द खाँ र नेपाली कांग्रेसका राजकुमार मौर्यलाई हराएर ६५४ मत ल्याएको थिए। उक्त गाउँपालिकामा कार्यालय सहयोगीको रुपमा कार्यरत मिश्रा यस पटकको स्थानीय चुनावमा जनप्रतिनिधिको रुपमा निर्वाचित भएपछि गाउँ टोलका समस्या समाधान गर्न व्यस्त छन्।
‘मैले दमकलमा काम गर्दा जनताको समस्या भित्रबाट बुझने अवसर पाए, त्यपछि मलाई जनप्रतिनिधिको रुपमा काम गर्ने चाहना पलायो,’ उनले भने।
कोरोनाकालमा जनतालाई आपत पर्दा होस् वा बाढीपीडित हुँदा गरेको कामबाट प्रभावित भएर जनताले आफूलाई वडाध्यक्षमा निर्वाचित गरेको मिश्राले उल्लेख गरे।
'गरिब भए पनि कसैलाई केही पर्याे भने मबाट हुने सबै काम हुन्छ,' उनले भने। आफू कार्यालय सहयोगी हुँदा र अहिले जनप्रतिनिधि हुँदा कुनै अन्तर नभएको उल्लेख गर्दै जसरी पनि जनताको सेवा गर्ने कुरा हो मिश्राले भने। दश जोड दुईसम्मको अध्ययन गरेका उनका दुई छोराछोरी र श्रीमतीका साथै परिवारमा बाआमा, दाइ, भाउजुसमेत छन्।
'हामीले अझै कार्यपालिकाको चुनाव सकेका छैनौँ त्यसैले त्यो काम सकेपछि बैठक बसी योजना निर्माण गरेर काम गर्छौ,' वडाध्यक्ष मिश्राले भने। नरेनापुरमा शुक्रबार मात्रै कार्यपालिकाको निर्वाचन हुँदैछ।
उक्त गाउँपालिकाका अध्यक्ष इश्तिहाक अहमद साहले उनी समझार व्यक्ति भएको उल्लेख गर्दै जनताले रुचाएको जनप्रतिनिधि भएको टिप्पणी गरे। 'मैले उहाँलाई सपाेर्ट पनि गरे र जनताको भरोसा र विश्वासले मिश्रा वडाध्यक्षमा निर्वाचित हुनुभयो,' उनले भने।
अहिले विगतको तुलनामा नरेनापुरको शिक्षा, स्वास्थ्य, बाटाघाटा सहज भएको उल्लेख गर्दै अध्यक्ष साहले दुःखको जिन्दगी बिताएका नरेनापुरवासीका सुखका दिन आएकाे बताए।
'पहिले विद्युतको पहुँच पनि थिए तर अहिले अधिकांश स्थानमा त्यसको पनि व्यवस्था गरिएको छ,' अध्यक्ष साहले भने।
नेपालगञ्जबाट पूर्व–दक्षिण दिशामापर्ने नरेनापुर पुग्न करिब दुई घण्टा लाग्छ। साबिकका छ गाविस मिलेर बनेको नरेनापुर गाउँपालिकामा ३४ हजार ९४२ जनङ्ख्या छ।
इस्लाम र हिन्दू धर्मवलम्बीको बाहुल्यता रहेको सो पालिकामा कृषि नै जीविकोपार्जनको मुख्य आधार हो। यसलाई दुर्गम गाउँपालिकाकाको रुपमा समेत चित्रण गरिएको छ।












