बागलुङमा जेठमै रोपाइँ गर्न भ्याइनभ्याइ
बागलुङ, जेठ १८ : असार नलाग्दै यहाँका किसानलाई रोपाइँको चटारो छ। सिञ्चित र दुई बाली फल्ने खेतमा रोपाइँ छिटो हुन्छ। जिल्लाकै धेरै धानखेती...
बागलुङ, जेठ १८ : असार नलाग्दै यहाँका किसानलाई रोपाइँको चटारो छ। सिञ्चित र दुई बाली फल्ने खेतमा रोपाइँ छिटो हुन्छ। जिल्लाकै धेरै धानखेती हुने गलकोटको मजुवा फाँटलगायतका ठाउँमा मध्यजेठबाटै रोपाइँ सुरु भएको कृषि ज्ञान केन्द्रले जनाएको छ।
केन्द्रका प्रमुख भानु भट्टराईले बाह्रैमास सिँचाइ सुविधा पुगेका र खोला आसपासका खेतमा रोपाइँ छिटो हुने बताए। 'वर्षा पनि भइरहेकाले रोपाइँलाई सहज बनाएको छ,' उनले भने, 'असारसम्ममा अधिकांश ठाउँमा रोपाइँ सकिइसक्छ।'
गलकोट नगरपालिका–७ बामियाका सचित्र गुरुङले रोपाइँले किसान बेफुर्सदिला बनेको बताए। उनी आफैँ पनि चार दिनयता लगातार घरकै रोपाइँमा खटिएका छन। चिसापानीमा गुरुङको १५ मुरी धान फल्ने खेत छ।
'रोपाइँको चापाचाप छ, गलकोटको मजुवा, आँगाखेत, बाह्रमुरीलगायतका फाँटमा रोपाइँ चलिरहेको छ,' गुरुङले भने, 'गलकोटमा धेरैजसो रोपाइँ जेठमै सकिन्छ।'
त्यसक्षेत्र भएर बग्ने दरमखोला र गौँदी खोलाबाट आएका कुलाले त्यहाँको ठूलो उब्जाउ भूमिलाई सिञ्चित गर्ने भएकाले रोपाइँ छिटो हुने गरेको हो। त्यहीँमाथि दैनिकजसो वर्षा हुन थालेपछि किसानलाई थप राहत मिलेको छ।
नेपालमा सामान्यतया अङ्ग्रेजी महिना जुन १० मा मनसुन भित्रिने गरे पनि कहिलेकाहीँ भने अलि छिट्टै मनसुन सक्रिय हुने गर्छ।
केन्द्रका अनुसार गलकोटसहित कुश्मीसेरा, खरबाङ, निसी, बुर्तिबाङलगायतका क्षेत्र छिटो रोपाइँ हुनेमा पर्छन्। रोपाइँ हुने मुख्य महिना असार भए पनि ती ठाउँमा पहिल्यै रोपाइँ सुरु भइसक्छ। मकै बाली हुने खेतमा भने किसानले मकै झिकेपछि असार अन्तिम र साउनसम्मै रोपाइँ गर्छन्।
यहाँको दक्षिण अमलाचौर, नारायणस्थान, बिहुँ, पाला, मालिका, बुर्तिबाङको उपल्लो भेगलगायतका ठाउँमा भने रोपाइँ ढिलो हुन्छ। असार लागेपछि रोपाइँ भएको क्षेत्रको विश्लेषण गरेर नियमित तथ्याङ्क दिन सकिने केन्द्रका प्रमुख भट्टराईले बताए।
जिल्लाको कूल पाँच हजार ८५० हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएको छ । त्यसमध्ये १० हेक्टरमा मात्र चैते धान लगाइन्छ। 'यस वर्ष धानखेती हुने क्षेत्रफल बढ्ने अनुमान छ,' प्रमुख भट्टराईले भने, 'उन्नतमा कम र स्थानीय जातकै धानमा किसानको बढी आकर्षण देखिन्छ।'
परालको जोहो र चामलको स्वादका लागि किसानले स्थानीय जातकै धान रोज्ने गरेको उनको भनाइ छ। उन्नत धानतिर किसानलाई आकर्षित गर्न केन्द्रले बीउ वितरण, बीज वृद्धिलगायतका कार्यक्रम सञ्चालन गर्दै आएको छ। उन्नत जातको धान लगाउँदा १५ प्रतिशतसम्म उत्पादन बढाउन सकिने प्रमुख भट्टराईले बताए।












