देशका अधिकांश भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना
काठमाडाैं, जेठ १८ : अझै केही दिन देशको अधिकांश भूभागमा हल्कादेखि मध्यम वर्षा हुने अनुमान गरिएको छ। प्रि–मनसुन गतिविधि सक्रिय रहेकाले देशको अधिकांश...
काठमाडाैं, जेठ १८ : अझै केही दिन देशको अधिकांश भूभागमा हल्कादेखि मध्यम वर्षा हुने अनुमान गरिएको छ। प्रि–मनसुन गतिविधि सक्रिय रहेकाले देशको अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा र अन्य प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विभागका मौसमविद् राजु प्रधानाङ्गले बताए।
उनका अनुसार प्रि–मनसुन सक्रिय हुनुका साथै स्थानीय वायु, भारतको उत्तर प्रदेश, विहार आसपास रहेको न्यूनचापीय रेखा र पश्चिमी वायुको प्रभावसमेत रहेको छ। 'यी प्रणालीको प्रभाव मनसुन भित्रिएपछि मात्र कमजोर हुने देखिएको छ,' मौसमविद् प्रधानाङ्गले भने। मनसुन भित्रिने औसत समय जुन १३ मानिएको छ। रातका समयमा प्रदेश नं १, मधेस प्रदेशका थोरै स्थानमा र बागमती प्रदेश, गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
बिहीबार देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा भई प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन/चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।
मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणानुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १८ दशमलव ६ डग्री र अधिकतम तापक्रम २६ दशमलव ६ डिग्री सेल्सियस रहेको छ। त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम ११ दशमलव सात डिग्री र सबै भन्दा धेरै दिपायलको अधिकतम तापक्रम ३८ दशमलव ९ डिग्री सेल्सियस रहेको छ।











