सहकारीलाई १० करोडसम्म ठेक्का गर्न दिने व्यवस्था अनुपयुक्त : हृदयेश त्रिपाठी

काठमाडौं, जेठ १९ : सांसद हृदयेश त्रिपाठीले मुलुकले अपनाइरहेको वित्तीय प्रणाली अर्थतन्त्र ध्वस्त पार्ने खालको रहेको बताएका छन् ।
आज (बुधबार) प्रतिनिधिसभाको बैठकमा सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटमाथिको सैद्धान्तिक छलफलमा बोल्दै उनले भने, ‘अहिले जुन वित्तीय अनुशासन वा वित्तीय प्रणाली अपनाइरहेका छौँ, त्यो दूरगामी ढंगले नेपाली अर्थतन्त्रलाई ध्वस्त पार्ने एउटा अवस्था सिर्जना गराइसकेको छ।’
उनले योगदानका आधारमा पेन्सन दिने कसरी भन्दै प्रश्न पनि गरे। कृषि क्षेत्रमा लगानी गर्ने भनिए पनि त्यो किसानमुखी नहुने देखिएको उल्लेख गर्दै उनले सहकारीलाई रु. १० करोडसम्मको ठेक्का गर्न दिने व्यवस्था उपयुक्त नहुने बताए।
राजश्व संकलनको स्रोत सुनिश्चित नभएको भन्दै उनले देशको कर प्रणाली आयातमुखी रहेको र यसलाई घटाउँदा राजश्व घट्ने हुँदा वैकल्पिक बाटो नलिएको बताए।











