निर्यातमुखी बजेट आएको छ, बजेट सकारात्मक छ : महासंघ
काठमाडौं, जेठ १८ : आर्थिक वर्ष २०७९/८० को बजेट सकारात्मक भएको निर्यात व्यवसायी महासंघले बताएको छ। महासंघले एक विज्ञप्ति जारी गर्दै बजेट साकारात्मक...
काठमाडौं, जेठ १८ : आर्थिक वर्ष २०७९/८० को बजेट सकारात्मक भएको निर्यात व्यवसायी महासंघले बताएको छ। महासंघले एक विज्ञप्ति जारी गर्दै बजेट साकारात्मक भएको भन्दै निर्यात क्षेत्रमा सहयोग पुग्ने विश्वास लिएको छ।
नेपालको अर्थतन्त्रको प्रमुख खम्बाका रूपमा रहेको आयात–निर्यात व्यवसायलाई सम्बोधन गर्ने गरी बजेट आएको महासंघले जनाएको छ। महासंघका अध्यक्ष रामबहादुर गुरुङले निर्यात व्यवसायी महासंघले दिएको सुझावका आधारमा बजेट आएकाले सकारात्मक रहेको बताए।
बजेटले अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्र स्थापना गर्ने, निर्यात प्रयोजनका लागि अन्तर्राष्ट्रिय मेला आयोजना गर्ने, सिमेन्ट, प्रशोधित पानी, स्टिल, फुटवेयर, क्लिङकर आदि वस्तुमा आठ प्रतिशतसम्म नगद अनुदान प्रदान गर्ने, निर्यातलाई भरपर्दो बनाउन नेपालस्थित प्रयोगशालालाई अन्तर्राष्ट्रियस्तरको बनाउने विषय सकारात्मक भएको उनको भनाइ छ।
महासंघले मसलाजन्य वस्तु अलैँची, अदुवा, जडीबुटी, बेसार आदि वस्तुको उत्पादन वृद्धि र प्रशोधनका लागि निजी क्षेत्रलाई सहुलियत प्रदान गर्ने, जडीबुटीको विशेषता तथा उपलब्धताको आधारमा प्रदेशस्तरमा जडीबुटी प्रशोधन केन्द्रको स्थापना गर्ने विषय साकारात्म भएको जनाएको छ।
वैदेशिक लगानी आकर्षण गर्न उद्योग स्थापनाका लागि ५० वर्षसम्म सरकारी जग्गा भाडामा दिने तथा मासिक रु १० करोडभन्दा बढी बिजुली खपत गर्ने उद्योगलाई दुईदेखि १५ प्रतिशतसम्म विद्युत् महसुलमा छुट दिने व्यवस्था राम्रो भएको जनाएको छ।
बजेटले बैंकिङ ब्याजमा सहुलियत, निर्यात भएपछि स्वतः निर्यातक कम्पनीको खातामा निर्यात अनुदान जम्मा हुने स्वचालित प्रणाली, निर्यातलाई व्यवस्थित गर्ने स्थायी संयन्त्रको व्यवस्थालगायतका विषयलाई बजेटले सम्बोधन गर्न नसकेको महासंघको भनाइ छ ।











