Kathmandu Press

मधेशमा मिथिलानी बर्साइत पर्व मनाइँदै

महोत्तरी, जेठ १६ : विवाहित हिन्दू मैथिल नारीले आज वरसाइत (वटसावित्री) पर्व मनाइरहेका छन्।जेठ औँसीका दिन अटल सौभाग्यको कामना गर्दै मिथिलानी (मिथिलाका नारी)...
मधेशमा मिथिलानी बर्साइत पर्व मनाइँदै

महोत्तरी, जेठ १६ : विवाहित हिन्दू मैथिल नारीले आज वरसाइत (वटसावित्री) पर्व मनाइरहेका छन्।

जेठ औँसीका दिन अटल सौभाग्यको कामना गर्दै मिथिलानी (मिथिलाका नारी) ले यस पर्व मनाउने गर्दछन्।  छोड्दो औँसीका दिन मनाइने यस पर्व भोलिपल्ट जेठ शुक्ल प्रतिपदा तिथि टेकेपछि समापन गरिन्छ।

अघि सत्य युगमा सति सावित्रीले आफ्नो तपश्या र साधनाले जेठ औँसीका दिन अटल सौभाग्यको वरदान पाएकी विश्वासको आधारमा  पर्व मनाउने मैथिल परम्परा छ। जेठ कृष्ण चतुर्दशीका दिन चोखोनितो खाएर व्रत सङ्कल्प गरेपछि औँसीका दिन निराहार व्रत बसेर आफ्नो बस्ती नजिकको वट वृक्ष (वरको रुख) फेदमा बर्तालु मिथिलानीले सामूहिकरुपमा सावित्रीलाई सम्झदै ब्रह्मा, विष्णु र महेशसहितका इष्टदेवको पूजाआराधना गरेर यस पर्व मनाउँछन्। बर्तालुले  जेठ शुक्ल प्रतिपदाका दिन बिहान सूर्योदयसँगै यो व्रत सम्पन्न गर्ने परम्परा छ।

Hardik ivf

बितेका लगातारका दुई वर्ष कोभिड–१९ महाव्याधिले मन फुकाएर रमाइलो गर्दै पर्व मनाउन नपाएका मिथिलानी यसपालि भने आपसी भेटघाट, कुराकानी गर्दै सामूहिकरुपमा व्रतको तयारीमा छन्। सावित्रीले आफ्नो तपोवलले इष्टदेव रिझाएर ढलेका (अचेत भइ ढलेका, कतिपय सन्दर्भमा मृतजस्तै पनि भनिएको छ) आफ्ना पति सत्यवानलाई तपोवलले जगाएर अटल सौभाग्यको वर पाएकी पौराणिक कथा नै यो पर्वको परम्परा रहेको छ।

वरको रुखमा  ब्रह्मा, विष्णु र महेशसहितका तीनै देवताको बास हुने मैथिल जनविश्वासअनुसार यो पर्वको सङ्कल्प, पूजाआराधना र समापन पनि वरकै रुख तल सम्पन्न गरिने परम्परा रहेको पर्वको तयारीमा रहेकी महोत्तरीको भङ्गाहा नगरपालिका–४ रामनगरकी श्यामा कुशवाहा बताउँछिन्।

नयाँनयाँ वस्त्र परिधानमा सजिएर वटवृक्ष परिसर सरसफाइ गर्नदेखि औँसीका दिन सावित्री कथा वाचन र श्रवण गर्ने यस व्रत परम्परा छ। साथीसङ्गीसँग नाच्दै, गाउँदै वट वृक्षमुनि वटसावित्री कथा सुनेर मनाइने यो पर्व मिथिलानीका लागि भेटघाट, र घरायसी दुखःसुख एकअर्कालाई सुनाउने अवसरसमेत हुने गरको छ।

मिथिलामा केही वर्ष पहिलेसम्म्म ब्राह्मण, कायस्थ र सोनार जातिका विवाहित सधवा महिलाले मात्रै मनाउने यो पर्व अब सबै जातजातिले मनाउन थालेका देखिँदो छ। मिथिलामा पछिल्लो समयमा विभिन्न जातजातिको छ्यासमिसे बस्ती बढ्ने क्रमले एकअर्काको संस्कृति परम्परा सिक्ने क्रममा यो पर्व सबै जातजातिले मनाउन थालेका मिथिला परम्पराका जानकार तथा कर्मकाण्डका ज्ञाता बर्दिवास–२ का महेशकुमार झा बताउँछन्। वट–सावित्री अब पर्वते मूलका विवाहित महिलाले पनि बाक्लै मनाइ रहेका छन्।

विवाहित महिलाले मनाउने यस पर्व मिथिला लोकसंस्कृति र परम्पराको अभिन्न अङ्ग बनेको जिल्लाको मटिहानीस्थित याज्ञवल्क्य लक्ष्मीनारायण संस्कृत क्याम्पस (याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापीठ) का उपप्राध्यापक ध्रुव राय बताउँछन्। आजै हिन्दू वैदिक परम्परा मान्नेहरुले सोमबारे औँसी पर्व पनि मनाएका छन्।

हिन्दू परम्परामा औँसी तिथि सोमबार पर्दा धार्मिक÷पौराणिक महत्वका नदी, तलाउ तथा सरोवरमा एकाबिहानै पवित्र स्नान गर्ने चलन छ। सोमबार औँसी परेको दिन बिहान नबोली तीर्थस्नान गर्नाले जीवनमा जानअन्जानमा भएका पाप पखालिएर मन पवित्र हुने विश्वास गरिन्छ। (रासस)

प्रकाशित मिति: ०७:१० बजे, सोमबार, जेठ १६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्