स्थानीय तह निर्वाचन : ३८५ स्वतन्त्र उम्मेदवार निर्वाचित
काठमाडौं, जेठ १४ : स्थानीय तहको निर्वाचनमा हालसम्म ३८५ जना स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन् । निर्वाचन आयोगका अनुसार स्थानीय तहको निर्वाचनमा २४ राजनीतिक...
काठमाडौं, जेठ १४ : स्थानीय तहको निर्वाचनमा हालसम्म ३८५ जना स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन् । निर्वाचन आयोगका अनुसार स्थानीय तहको निर्वाचनमा २४ राजनीतिक दल सहभागी हुँदा स्वतन्त्र उम्मेदवार २६६ पुरुष र ११९ महिला निर्वाचित भएका हुन् ।
निर्वाचन आयोगका अनुसार स्वतन्त्र उम्मेदवारमध्ये नगरपालिका प्रमुखमा सात र गाउँपालिका अध्यक्षमा छ जना निर्वाचित भएका छन्। काठमाडौँ महानगरपालिकासहित धरान उपमहानगरपालिका, धनगढी उपमहानगरपालिका र जनकपुर उपमहानगरको प्रमुख पदमा स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन्।
काठमाडौँ महानगरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले ६१ हजार ७६७ मत प्राप्त गरी निर्वाचित भएका छन् । काठमाडौँमा पहिलो पटक स्वतन्त्र उम्मेदवार निर्वाचित भएका हुन्।
जनकपुरमा स्वतन्त्र उम्मेदवार मनोजकुमार साहसुडीले १३ हजार ४६५, धरान उपमहानगरमा हर्कराज राईले २० हजार ८२१, धनगढी उपमहानगरमा गोपाल हमालले २६ हजार ८६५ मतसहित प्रमुखमा विजयी भएका छन्।
स्वतन्त्र उम्मेदवार उपप्रमुख दुई र उपाध्यक्ष दुई निर्वाचित भए । स्वतन्त्र वडाध्यक्ष १३६ निर्वाचित भएका हुन्। तीमध्ये १३३ पुरुष र तीन महिला छन्। महिला सदस्यमा ६०, दलित महिला सदस्य ५५, पुरुष सदस्य ११७ निर्वाचित भएका छन्।











