कार्यपालिका सदस्य चयनका लागि कैलालीमा निर्वाचन हुँदै
धनगढी, जेठ १४ : स्थानीय तह निर्वाचनअन्तर्गत कैलालीमा कार्यपालिका सदस्य चयनका लागि निर्वाचन प्रक्रिया सुरु भएको छ।निर्वाचनका लागि पालिकामा मतदाता नामावली प्रकाशन, अन्तिम...
धनगढी, जेठ १४ : स्थानीय तह निर्वाचनअन्तर्गत कैलालीमा कार्यपालिका सदस्य चयनका लागि निर्वाचन प्रक्रिया सुरु भएको छ।
निर्वाचनका लागि पालिकामा मतदाता नामावली प्रकाशन, अन्तिम नामावली प्रकाशन, मनोनयन दर्ताजस्ता कार्य भएका छन्। निर्वाचन आयोगले १५ दिनभित्र कार्यपालिका सदस्यको निर्वाचन गरी सक्न निर्देशन दिएपछि निर्वाचन अधिकृतका कार्यालयले निर्वाचनका गतिविधि सुरु गरेका हुन्।
कैलालीको टीकापुरमा आठ जना कार्यपालिका सदस्य चयन गर्न १८ गते निर्वाचन हुने भएको छ। टीकापुर नगरपालिका कार्यपालिका सदस्यका लागि ११ जनाको उम्मेदवारी परेको सहायक निर्वाचन अधिकृत लक्ष्मी ओडले जानकारी दिइन्।
कार्यपालिका सदस्यका लागि नागरिक उन्मुक्ति पार्टीबाट पाँच जनाको उम्मेदवारी परेको छ। नागरिक उन्मुक्ति पार्टीले तीन महिला सदस्यका लागि कैलाशपति चौधरी, रुपमति डगौरा थारु र सरस्वती तिरुवा तथा दुई दलित सदस्यका लागि दीपकबहादुर निसानी र मञ्जु विकलाई उम्मेदवार बनाएको छ।
त्यस्तै नेपाली कांग्रेसले दुई महिला सदस्यमा टङ्क वली कार्की र राजारानी चौधरीको नाम दर्ता गरेको छ। दलित सदस्यमा रामबहादुर नगार्जीको उम्मेदवारी परेको छ।
नेकपा (माओवादी केन्द्र) ले दुई दलित सदस्य दिलु कामी र चन्द्र नेपाली तथा एक महिला सदस्यमा लबरी चौधरीलाई उम्मेदवार बनाएको छ।
जानकी गाउँपालिकामा पनि कार्यपालिका सदस्य चयनका लागि मतदाता नामावली प्रकाशन भएको छ। जानकीमा ६ जना कार्यपालिका सदस्य चयनका लागि १५ गते निर्वाचन गरिने निर्वाचन अधिकृतको कार्यालयका निर्वाचन अधिकृत विश्वदीप बेसारा बताए।
जोशीपुर गाउँपालिकामा जेठ १८ गते निर्वाचन हुने निर्वाचन अधिकृत शिवराज भट्टले जानकारी दिए। भजनीमा कार्यपालिका सदस्य चयनका लागि १७ गते निर्वाचन हुने भएको छ। भजनीमा आठ सदस्य चयनका लागि १३ जनाको उम्मेदवारी परेको छ। (रासस)











