Kathmandu Press

जुम्ला आयुर्वेद पाँच महिनादेखि प्रमुख विहीन

कर्णाली, जेठ १२ : आयुर्वेद स्वास्थ्य केन्द्र जुम्ला पाँच महिनादेखि कार्यालय प्रमुखविहीन हुँदा यहाँको दैनिक कामकाज प्रभावित भएको छ। केन्द्रका कार्यालय प्रमुख देवेन्द्र...
जुम्ला आयुर्वेद पाँच महिनादेखि प्रमुख विहीन

कर्णाली, जेठ १२ : आयुर्वेद स्वास्थ्य केन्द्र जुम्ला पाँच महिनादेखि कार्यालय प्रमुखविहीन हुँदा यहाँको दैनिक कामकाज प्रभावित भएको छ। केन्द्रका कार्यालय प्रमुख देवेन्द्र ठाकुर पुस महिनामा सरुवा भएर गएपछि कार्यालय प्रमुख विहीन छ।

कार्यालय प्रमुख नहुँदा काम ठप्प भएको स्वास्थ्य केन्द्र वैद्य गोर्खबहादुर रावतले जानकारी दिए। 'लामो समयदेखि कार्यालय प्रमुखको अनुपस्थितिले हामीले तलबसमेत खान पाएका छैनौैँ,' दुखेसो पोख्दै वैद्य रावतले भने, 'कार्यालय प्रमुखको मागका लागि अहिले कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आएको छु।' उनका अनुसार आठ दिनसम्म सामाजिक विकास मन्त्रालय धाउँदा पनि त्यसको सुनुवाइ हुन सकेको छैन। पुसयता आर्थिक कारोबार सबै बन्द भएको हो। कार्यालय प्रमुख नहुँदा खरिद भएका औषधि प्रयोगशालाका सामग्री, फर्निचर खरिदको भुक्तानी हुन सकेको छैन। उपचार गर्न आएका सेवाग्राही औषधि तथा आवश्यक सामग्री नपाएर फर्किने गरेका छन्।

Hardik ivf

उनले आयुर्वेदलाई आवश्यक फर्निचर, ल्याबका सामग्री र औषधि खरिदको भुक्तानीसमेत हुन नसक्दा पूँजीगत तथा वित्तीय प्रगति शून्य भएको बताए। केन्द्रका अनुसार १० महिना कटिसक्दा कार्यालयको पूँजीगत काम मर्मत सम्भार, डिपीआर निर्माण तथा मर्मत, औषधि खरिद, नागरिक आरोग्य केन्द्र स्थापनाका काम हुन सकेका छैनन्।

वैद्य रावतका अनुसार मन्त्रालयले तलब, भत्ता, पोसाक, घरभाडा, बत्ती, बिजुली महसुल शीर्षक खर्च गर्नका लागि पत्र पठाएको थियो तर त्यस पत्रले करारका कर्मचारीले तलब नपाउने भएकाले समस्या भएको छ। सामाजिक विकास मन्त्रालयका आयुर्वेद चिकित्सक लक्ष्मीनारायण तिवारीले जुम्ला आयुर्वेद स्वास्थ्य केन्द्रको समस्या समाधानका लागि सचिव समक्ष विषय राखिसकेकाले अब आजभोलि नै समस्या समाधान हुने बताए। प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईंका अनुसार आयुर्वेद स्वास्थ्य केन्द्रको अवस्था अस्तव्यस्त भएको हुँदा प्रदेश सरकारसँग पहल गरिएको जनाए।

प्रकाशित मिति: २०:३३ बजे, बिहीबार, जेठ १२, २०७९
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्