हुम्ला अस्पतालमा बिरामी बढे
सिमकाेट, जेठ १२ : हुम्लाको जिल्ला अस्पताल सिमकोटमा केही दिन यता झाडापखालाका बिरामी बढेका छन्। एक सातायता जिल्ला अस्पतालमा निमोनिया र झाडा पखालाका बिरामी उपचारका लागि बढी पुग्ने गरेको बताइएको छ। उपचारका लागि आउने यी बिरामीमध्ये बालबालिकाको सङ्ख्या वृद्धि भएको जिल्ला अस्पताल हुम्लाले जानकारी दिएको छ।
मौसम परिवर्तनका साथै पछिल्लो समय जिल्लामा काचा फलफूल खाने समय भएकाले बिरामीको सङ्ख्या बढेको स्वास्थ्य सेवा कार्यालय हुम्लाले जानकारी दिएको हो।
निमोनियाका बिरामी उपचारका लागि बढी आउने गरेको जिल्ला अस्पतालका सिनियर अनमी सरिता बोहराले बताइन। निमोनियाका साथै ज्वरो आउने, श्वासप्रश्वासमा समस्या बढी भएका बिरामी जिल्ला अस्पतालमा भर्ना हुने गरेको बोहराले जानकारी दिइन। १५ श्यया रहेको जिल्ला अस्पतालमा पछिल्लो केही दिनयता बालबालिकाको सङ्ख्या ह्वात्तै बढेपछि १३ बालबालिकालाई जिल्ला अस्पतालमा भर्ना गरिएको सिनियर अनमी बोहराले बताइन।
अस्पतालमा भर्ना भएका बिरामी बालबालिका मध्य सात जनालाई श्वासप्रश्वासमा समस्या देखिएपछि अक्सिजन दिएर राखिएको छ। निमोनियाकै कारण एक जना बालिकाको मृत्युु भएको र एक जनाको स्वास्थ्य जटिल रहेको छ। बिरामी बालबालिका तीन वर्ष मुनिका रहेका छन् भने सिमकोट गाउँपालिका भरिबाट दैनिक ३० भन्दा बढी बालबालिका निमोनिया र झाडा पखालाका बिरामी आउने गरेको उनले बताइन। बिरामी बालबालिका बढेपछि अस्पतालका श्यया बिरामी र कुुरुवा आमाले भरिएका छन्।
जिल्ला अस्पतालमा उपचार हुन नसकेका विभिन्न किसिमका पाँच जटिल बिरामीलाई थप उपचारका लागि जिल्ला बाहिर रिफर गरिएको छ।