लमजुङका आठ पालिका प्रमुखमा पुरुष मात्रै
बेशीसहर , जेठ १२ : लमजुङका आठ स्थानीय तहको प्रमुख पदमा सबै पुरुष निर्वाचित भएका छन् । चार नगरपालिका र चार गाउँपालिकाको प्रमुख पदमा...
बेशीसहर , जेठ १२ : लमजुङका आठ स्थानीय तहको प्रमुख पदमा सबै पुरुष निर्वाचित भएका छन् । चार नगरपालिका र चार गाउँपालिकाको प्रमुख पदमा पुरुष निर्वाचित हुँदा महिला नेतृत्व शून्य भएको हो।
विसं २०७४ को स्थानीय तह निर्वाचनमा एउटा मात्र दूधपोखरी गाउँपालिकामा महिला प्रमुख निर्वाचित भएका थिए। गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा बेँसीसहर नगरपालिकामा मङ्गोल अर्गनाइजेशन नेशनलले प्रमुख पदमा कुलुकुमारी गुरुङलाई उम्मेदावर बनाएको थियो । उनी निर्वाचनमा पराजित भइन्। नेकपा (एमाले), नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र)लगायत ठूला दलले प्रमुख पदमा महिला उम्मेदावर नबनाउँदा महिला सहभागिता शून्य हुन पुगेको हो ।
जिल्ला सदरमुकामसमेत रहेको बेँसीसहर नगरपालिका उपप्रमुखमा एमालेबाट पदमा गुरुङ, सुन्दरबजार नगरपालिका उपप्रमुखमा भवानी केसी, मध्यनेपालमा सीता गुरुङ, क्व्होलासोगर गाउँपालिका उपाध्यक्षमा गमी गुरुङ र मस्र्याङ्दी गाउँपालिका उपाध्यक्षा जुनामाया थापा निर्वाचित भएका छन् । एमालेले आठवटै पालिकामा उपप्रमुख तथा उपाध्यक्षमा महिला उम्मेदावर बनाएको थियो । पहिलो स्थानीय तह निर्वाचनमा जिल्लामा एक पालिका प्रमुख र चार उपप्रमुखमा महिला निर्वाचित भएका थिए।











