Kathmandu Press

खजुरामा ५३ विद्यालय भवन निर्माण

बाँके, जेठ १२ : बाँकेको खजुरा गाउँपालिकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरमा सुधार ल्याउन भौतिक पूर्वाधारमा जोड दिएको छ । गाउँपालिकामा जनप्रतिनिधि आएपछि शिक्षा क्षेत्रलाई...
खजुरामा ५३ विद्यालय भवन निर्माण

बाँके, जेठ १२ : बाँकेको खजुरा गाउँपालिकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरमा सुधार ल्याउन भौतिक पूर्वाधारमा जोड दिएको छ । गाउँपालिकामा जनप्रतिनिधि आएपछि शिक्षा क्षेत्रलाई विशेष प्राथमिकता दिएका कारण विद्यालयका संरचना तयार भएको गाउँपालिका शिक्षा शाखा प्रमुख खगेन्द्र मल्लले जानकारी दिए। 

उनका अनुसार बितेको पाँच वर्षमा खजुरा गाउँपालिकामा ५३ विद्यालय भवन बनेका छन् । गाउँपालिकाले सङ्घ र प्रदेशको समेत सहयोग लिएर भवन बनाएको हो । भौतिक पूर्वाधारको क्षेत्रमा आर्थिक वर्ष २०७४÷७५ देखि २०७८÷७९ सम्म आइपुग्दा करिब १२० कक्षाकोठा, नमूना विद्यालयको नियमित कार्यक्रम र सङ्घीय सशर्त अनुदानका दुईकोठ र चारकोठे भवन, प्रदेश सरकार, राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम, गाउँपालिकास्तरबाट र विद्यालयको आन्तरिक स्रोत परिचालन गरेर भौतिक पूर्वाधारको क्षेत्रमा उल्लेखनीय सुधार गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बमबहादुर केसीले बताए। 

Hardik ivf

‘जहाँ विद्यार्थी, त्यही शिक्षक’ अभियान चलाएको खजुराले विद्यार्थी र शिक्षकको अनुपात मिलाएको छ । खजुराले ४० विद्यार्थी बराबर एक शिक्षकको मापदण्ड बनाएको छ । सङ्घीय हिसाबमा ५० विद्यार्थी बराबर एक शिक्षक पर्छ । पञ्चवर्षीय योजना बनाएको पालिकाले करार शिक्षक नियुक्ति गरेर विद्यालयमा पठाएको छ । एक शिक्षक बराबर ४० भन्दा बढी विद्यार्थी रहेको विद्यालयमा पालिकाले करारमा शिक्षक पठाएको केसीको भनाइ छ ।

स्थानीय सरकार आएपछि विद्यालयको सुक्ष्म व्यवस्थापनमा सहयोग गरेको छ । खानेपानी, शौचालय, खेलमैदान, विद्यालय भवन मर्मतसम्भारलगायत कार्यक्रममा सहयोग गरेको छ । खजुरामा निःशुल्क तथा अनिवार्य शिक्षा आधारभूत तहसम्म लागू गर्नका लागि पालिकास्तरबाटै वार्षिकरूपमा झण्डै रु ३८ लाख विद्यालयमा निकासा गरेपछि आधारभूत तहसम्म विद्यालय पूर्णरूपमा निःशुल्क भएका छन् । 

गाउँपालिकाले भवनसँगै शौचालय निर्माणदेखि आइटी ल्याब, शैक्षिक गुणस्तरीय कार्यक्रमअन्तर्गत विभिन्न सहयोग गरेको छ । सामुदायिक विद्यालय ३०, मदरसा १७ र निजी विद्यालय १८ गरी खजुरामा ६५  विद्यालय छन् । गाउँपालिकामा २१ हजारभन्दा बढी विद्यार्थी अध्ययनरत छन् । विद्यार्थीको सङ्ख्याअनुसार भवन थप्ने, शिक्षक मिलाउने काम भइरहेको मल्लले बताए।

प्रकाशित मिति: १०:५७ बजे, बिहीबार, जेठ १२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्