Kathmandu Press

अझै पाँच पालिकाको नतिजा आउन बाँकी

अझै पाँच पालिकाको नतिजा आउन बाँकी

काठमाडाैं, जेठ ११ : स्थानीय तह सदस्य निर्वाचन सम्पन्न भएको १२ दिन पुगे पनि अझै ५ पालिकाको अन्तिम नतिजा सार्वजनिक हुन सकेको छैन। निर्वाचन आयोगका अनुसार काठमाडौँ महानगरपालिका, रौटहटको गरुडा र फतुवा विजयपुर नगरपालिका र उदयपुरको त्रियुगा नगरपालिकाको मतगणना भइरहेको छ।

बाजुराको बूढीगङ्गा नगरपालिकामा अझै मतगणना सुरु हुन सकेको छैन। निर्वाचन आयोगका अनुसार काठमाडौँ महानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह ४८ हजार ४३२ मतसहित अग्रस्थानमा छन। उनको प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सिर्जना श्रेष्ठले ३० हजार ३९७ मत प्राप्त गरेकी छन।

Hardik ivf

यस्तै उपप्रमुखमा नेकपा (एमाले)का सुनिता डङ्गोलले ५३ हजार ६४२ मत प्राप्त गर्दा नेकपा (एकीकृत समाजवादी) का रामेश्वर श्रेष्ठले १७ हजार ७५६ मत प्राप्त गरेका छन।

उदयपुरको त्रियुगा नगरपालिकाको प्रमुखमा एकीकृत समाजवादीका बलदेव चौधरी ७४४ मतसहित अग्रस्थानमा छन। प्रतिद्वन्द्वी कांग्रेसका वसन्तकुमार बस्नेतले ३४४ मत प्राप्त गरेका छन। उपप्रमुखमा नेकपा (माओवादी केन्द्र)का गीता खड्का कार्कीले ८१८ मत प्राप्त गरेकी छन भने प्रतिद्वन्द्वी कांग्रेसका सरिता राईले ३२० मत प्राप्त गरेकी छन।

रौतहटको गरुडा नगरपालिकको प्रमुखमा एमालेका कन्थमनी प्रसाद कलवार तीन हजार ८०७ मतका साथ अगाडि छन। उनलाई एकीकृत समाजवादीका वृजकिशोर प्रसाद यादवले तीन हजार ४१८ मतका साथ पछ्याइरहेका छन।

उपप्रमुखमा कांग्रेसका पुनमकुमारी चौधरीले पाँच हजार १४८ मत प्राप्त गर्दा जनता समाजवादी पार्टी नेपालका विन्दुकुमारी देवीले तीन हजार १६४ मत प्राप्त गरेकी छन।

रौतहटकै फतुवा विजयपुर नगरपालिकाको प्रमुखमा कांग्रेसका गोपाल राय यादवले चार हजार ११७ मत प्राप्त गरी अग्रता लिइरहेका छन। एमालेका विजय यादव दुई हजार ९२२ मतका साथ पछि छन। उपप्रमुखमा कांग्रेसका अमवेया खातुनले चार हजार २५१ मत र एमालेका कान्ती देवीले तीन हजार २७० मत प्राप्त गरेकी छन।

सार्वजनिक भएको मतपरिणामअनुसार नेपाली कांग्रेस १३८ नगरपालिका र १८८ अध्यक्षसहित ३२६ स्थानमा विजयी भएको छ। जारी मतगणनामा कांग्रेस दुई स्थानमा अगाडि छ। एमाले ८१ नगरपालिका र १२३ गाउँपालिकासहित २०४ स्थानमा विजयी भएको छ। माओवादी केन्द्र २५ नगरपालिका र ९६ गाउँपालिका गरी १२१ स्थानीय तहमा विजयी भएको छ।

प्रकाशित मिति: १९:३२ बजे, बुधबार, जेठ ११, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्