Kathmandu Press

जनचाहना अनुरुपका कार्यक्रमलाई जोड दिनेछु : उपप्रमुख गुरुङ

पाेखरा, जेठ ११ : पोखरा महानगरपालिकाको दोस्रो कालका लागि पुनः निर्वाचित उपप्रमुख मञ्जुदेवी गुरुङले जनताको जनमतलाई उच्च कदर गर्दै पोखराको समग्र विकासमा साझा...
जनचाहना अनुरुपका कार्यक्रमलाई जोड दिनेछु : उपप्रमुख गुरुङ

पाेखरा, जेठ ११ : पोखरा महानगरपालिकाको दोस्रो कालका लागि पुनः निर्वाचित उपप्रमुख मञ्जुदेवी गुरुङले जनताको जनमतलाई उच्च कदर गर्दै पोखराको समग्र विकासमा साझा उम्मेदवारका रुपमा काम गर्ने बताएका छन।

निर्वाचनको अन्तिम मतपरिणाम आएसँगै नेकपा (एमाले)ले आयोजना गरेको विजय र्‍यालीपश्चात्को कोणसभामा नवनिर्वाचित उपप्रमुख गुरुङले जनताले पुनः दोस्रो कार्यकालका लागि आफूलाई अनुमोदन गरेकाले अझ बढी जिम्मेवार र जनउत्तरदायी भएर जनमुखी कार्यक्रममा जोड दिने बताए। 'जनताले २०७४ सालमा अमूल्य मत दिएर पठाउनुभयो र ५ वर्षपछि पुनः अमूल्य मत दिएर अनुमोदन गर्नुभएको छ । अब साझा व्यक्ति भएर विकासलाई प्राथमिकता राखेर अघि बढ्छु,' उनले भने। अघिल्लो कार्यकालका राम्रा कुरालाई पुनः निरन्तरता दिँदै समग्र पोखराका लागि थप नयाँ योजनालाई मूर्त रुप दिनका लागि आफू प्रतिबद्ध हुने बताए।

Hardik ivf

उनले अघिल्लो कार्यकालमा उपप्रमुखसँग महिला कार्यक्रम, महिला हिंसा न्यूनीकरणमा पुरुष ऐक्यबद्धता कार्यक्रमसँगै महिला सहायताकक्ष राखेर महिलाको न्याय र अधिकारका लागि बहस पैरवीलगायत थुप्रै प्रभावकारी कार्यक्रम भएको जनाउँदै यसको निरन्तरतासँगै थप समयको मागअनुसार अझ प्रभावकारी कार्यक्रमलाई जोड दिने बताए।

कोणसभामा एमालेका प्रमुखका प्रत्याशी कृष्ण थापाले प्रमुख पदमा जित्ने प्रबल सम्भावना हुँदाहुँदै नसोचेको परिणाम आएको जनाउँदै पार्टीभित्र यसको गहिरो समीक्षा हुनुपर्नेमा जोड दिए। उनले आफू पराजित भए पनि पोखराको विकासमा सहयोगी बनेर सधैँ सकारात्मक भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रममा एमालेका उपमहासचिव तथा प्रचार विभागप्रमुख  पृथ्वीसुब्बा गुरुङ,  एमाले स्थायी कमिटी सदस्य एवम् सङ्गठन विभाग खगराज अधिकारी, एमाले पोखरा महानगर अध्यक्ष दिलीप न्यौपाने लगायतले एमालेले ८६ वटा सदस्यसहित बहुमत ल्याए पनि प्रमुख र वडाहरुमा नराम्रो पराजय भोग्नु परेको जनाउँदै आगामी दिनमा समीक्षा गरेर अघि बढ्नुपर्ने धारणा राखेका थिए। महानगरको ३३ वडामा  एमालेले ९ वडाध्यक्षमा मात्र जित्न सफल भएको छ।

प्रकाशित मिति: १८:३७ बजे, बुधबार, जेठ ११, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्