Kathmandu Press

बाँकेमा जोगाउन सकेन एमालेले विरासत

नेपालगञ्ज, जेठ १० : स्थानीय तह निर्वाचनमा नेकपा (एमाले) ले बाँके जिल्लाका पालिकाको प्रमुख जित्न सकेन।  २०७४ को निर्वाचनमा चार पालिका र ३१...
बाँकेमा जोगाउन सकेन एमालेले विरासत

नेपालगञ्ज, जेठ १० : स्थानीय तह निर्वाचनमा नेकपा (एमाले) ले बाँके जिल्लाका पालिकाको प्रमुख जित्न सकेन।  

२०७४ को निर्वाचनमा चार पालिका र ३१ वडा जितेको एमालेले सबै पालिकामा नेतृत्व गुमाउँदै २१ वडामा मात्र सिमित हुन पुगेको छ। उस्तै हालत राप्रपाको पनि छ। नेपालगञ्जमा आफ्नो विरासत जोगाउन सकेन।

निर्वाचनको सबै पालिकाको नतिजा सार्वजनिक हुँदा आठ पालिका रहेको जिल्लामा नेपाली कांग्रेसले सबैभन्दा बढी पालिका जितेर सबैभन्दा ठूलो दल बनेको छ। कांग्रेसले पाँच पालिकामा प्रमुख–उपप्रमुख दुवै, दुई पालिकामध्ये एकमा प्रमुख, अर्कोमा उपप्रमुख जित्न सफल भएको छ।

जनता समाजवादी पार्टी (जसपा)ले एक पालिका प्रमुख र दुई उपप्रमुखमा जित निकालेको छ भने नेकपा (माओवादी केन्द्र)ले एक पालिका प्रमुख जितेको छ।

जिल्ला निर्वाचन कार्यालय बाँकेका अनुसार जिल्लाको कोहलपुर नगरपालिका, राप्तीसोनारी, डुडुवा, बैजनाथ, जानकी गाउँपालिका तथा नेपालगञ्ज उपमहानगरपालिकामा कांग्रेसले जित निकालेको छ भने खजुरामा माओवादी केन्द्रले जित हासिल गरेको छ। नरैनापुर गाउँपालिकामा जसपा पुनः विजय भएको छ।

राप्तीसोनारीको अध्यक्षमा कांग्रेसका तप्त पौडेल र उपाध्यक्षमा पूर्णिमासिंह थारू, डुडुवाको अध्यक्षमा कांग्रेसका नरेन्द्र चौधरी र उपाध्यक्षमा शाहिदा बानो, जानकीको अध्यक्षमा कांग्रेसका छब्बन खाँ, र उपाध्यक्षमा रामप्यारी यादव, बैजनाथको अध्यक्षमा कांग्रेसकै प्रकाश शाह, उपाध्यक्षमा निर्मला रोकाय, नरैनापुरको अध्यक्षमा जसपाका मोहम्मद इश्तियाक अहमद साह र उपाध्यक्षमा जयन्ती श्रीवास्तव, कोहलपुरमा कांग्रेसका पूर्ण आचार्य र उपप्रमुखमा सङ्गीता सुवेदी पौडेल विजयी भएका छन्।

माओवादी–कांग्रेसको गठबन्धन रहेको खजुराको अध्यक्षमा माओवादीका डम्बर विक तुफान र उपाध्यक्षमा कांग्रेसका मञ्जु मल्ल विजयी भए भने पाँचदलीय गठबन्धन रहेको नेपालगञ्ज उपमहानगरमा गठबन्धनका तर्फबाट प्रमुखका उम्मेदवार कांग्रेसका प्रशान्त विष्ट र उपप्रमुखका उम्मेदवार जसपाका कमरुद्दीन राई विजयी भए।

२०७४ को निर्वाचनमा चार पालिका जितेको एमालेले जिल्लामा पहिलोपटक यस निर्वाचनमा कुनै पनि पालिका जित्न सकेन। गठबन्धनका बाबजुद पनि जिल्लाका ६ पालिकामा एमाले दोस्रो शक्तिका रूपमा आफूलाई स्थापित गर्न सफल भएको एमाले बाँकेका इन्चार्ज सूर्य ढकालले बताए।

राप्रपाका महामन्त्री डा. धवलशम्शेर राणाले आफ्नो विरासत जोगाउन कोसिस भए पनि सम्भव हुन नसकेको बताए। राप्रपाले माओवादीबाट नन्दलाल वैश्यलाई पार्टीमा ल्याएर निर्वाचन लडाएको थियो।  नेपालगञ्जमा वैश्य तेस्रो स्थानमा रहेका थिए। (रासस)

प्रकाशित मिति: ०७:५७ बजे, मंगलबार, जेठ १०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्