अस्ट्रेलियाका नयाँ प्रधानमन्त्रीद्वारा शपथग्रहण
काठमाडाैं, जेठ ९ : अष्ट्रेलियाका नवनिर्वाचित प्रधानमन्त्री एन्थोनी अल्बानीले सोमबार शपथ लिएका छन्।गत शनिबार भएको निर्वाचनमा सत्तारुढ गठबन्धनलाई पराजित गर्दै विजयी भएका लेबर...
काठमाडाैं, जेठ ९ : अष्ट्रेलियाका नवनिर्वाचित प्रधानमन्त्री एन्थोनी अल्बानीले सोमबार शपथ लिएका छन्।
गत शनिबार भएको निर्वाचनमा सत्तारुढ गठबन्धनलाई पराजित गर्दै विजयी भएका लेबर पार्टीका नेता अल्बानीले अष्ट्रेलियाको ३१औँ प्रधानमन्त्रीका रूपमा शपथ लिएका हुन्।
उनीसँगै केही मन्त्रीलाई पनि शपथ खुवाइएको छ। उपप्रधान तथा रोजगार मन्त्रीको रुपमा रिचार्ड मार्लेस, विदेश मन्त्रीका रुपमा पेन्नी वाङ र अर्थमन्त्री तथा महिला मन्त्रीका रुपमा कटी जाल्लाघरलाई शपथ खुवाइएको हो। जापानको राजधानी टोकियोमा मंगलबार हुन लागेको 'द क्युड' सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री र विदेशमन्त्री जानुपर्ने भएकाले हतारहतार शपथ ग्रहण कार्यक्रम गरेको जनाइएको छ।
सम्मेलनमा अमेरिका, जापान र भारतका शीर्ष नेता र विदेश मन्त्रीसमेत सहभागी भएकाले अष्ट्रेलियाका विदेश मन्त्री जानुपर्ने भएको हो। उनी सोमबार नै शपथ ग्रहणलगत्तै त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम छ। प्रधानमन्त्री अल्बानी स्वदेश नफर्किंदासम्म उपप्रधानमन्त्री मार्लेसले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्ने भएका छन्।
अष्ट्रेलियाको तल्लो संघीय संसद्मा १५१ सिट रहेको छ। अष्ट्रेलियाको तल्लो सङ्घीय संसद्मा बहुमत पुर्याउन कम्तीमा ७६ सिट जित्नुपर्छ। त्यो पुर्याएर लेबर पार्टीले नयाँ सरकार गठन गरेको हो।
सत्तारुढ गठबन्धनको नेतृत्व गरेका निवर्तमान प्रधानमन्त्री स्कट मोरिसनले पराजय स्वीकार गर्दै तत्काल प्रधानमन्त्री र पार्टीको नेतृत्वबाट राजीनामा दिएका थिए।
अष्ट्रेलियामा १८ वर्ष पुरा भएका हरेक नागरिकले अनिवार्य मतदान गर्नुपर्ने व्यवस्था छ। निर्वाचन आयोगकाअनुसार यो वर्ष मतदाताको कुल सङ्ख्या एक करोड ७० लाखभन्दा बढी छ। मतदानका लागि देशभरी सात हजारभन्दा बढी मतदान केन्द्र तोकिएका थिए।












