Kathmandu Press

पर्वतका ६१ वडाध्यक्षमा महिलाको सङ्ख्या शून्य

पर्वत, जेठ ८ :  पर्वतको सात स्थानीय तहका ६१ वटा वडाध्यक्षका पदमध्ये  कुनैमा पनि महिला निर्वाचित हुन सकेका छैनन्।सबै  वडाध्यक्षमा पुरुष नै निर्वाचित...
पर्वतका ६१ वडाध्यक्षमा महिलाको सङ्ख्या शून्य

पर्वत, जेठ ८ :  पर्वतको सात स्थानीय तहका ६१ वटा वडाध्यक्षका पदमध्ये  कुनैमा पनि महिला निर्वाचित हुन सकेका छैनन्।

सबै  वडाध्यक्षमा पुरुष नै निर्वाचित भएका हुन्। विहादी गाउँपालिका–१ मा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसकी विष्णु खड्का र कुश्मा नगरपालिका–११ पकुवामा गठबन्धनबाटै माओवादी केन्द्रकी लीला दबाडी उम्मेदवार बनेकी थिइन्। जिल्लाभर दुई जनामात्रै वडाध्यक्षको उम्मेदवार बने पनि पराजित भएका थिए। 

Hardik ivf

विहादी-१ मा नेकपा एमालेका चित्रबहादुर गुरुङसँग खड्का पराजित भएकी हुन् भने कुश्मा–११ मा पनि एमालेकै बाबुराम पौडेलसँग दबाडी पराजित भइन्। अघिल्लो स्थानीय तहको निर्वाचनमा कुश्मा–४ र ५ मा नेपाली कांग्रेसको तर्फबाट क्रमशः मीना कर्माचार्य र चित्रकला शर्मा भारती निर्वाचित भएका थिए।
 
यस पटक भने वडाध्यक्षमा महिलाको सहभागिता शून्य रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। महिला उम्मेदवारको सङ्ख्या नै कम रहेको र महिला उठेका पनि विजयी हुन नसकेकाले ६१ वडाका अध्यक्षमा महिलाको प्रतिनिधित्व हुननसकेको जिल्ला निर्वाचन अधिकारी लक्षु शर्माले बताए।

जिल्लामा एउटा पालिकाले भने महिला नै प्रमुख पाएको छ। मोदी गाउँपालिकामा एमालेको तर्फबाट उम्मेदवार बन्नुभएकी हीरादेवी शर्मा अध्यक्षमा निर्वाचित भएकी हुन्। उक्त गाउँपालिकामा एमालेकै उम्मेदवार बिमल लामिछाने पनि उपाध्यक्षमा निर्वाचित भएका छन्। गठबन्धनका कारण प्रमुख र उपप्रमुखमा जलजला गाउँपालिकाले महिलालाई पाउन सकेन। 

जलजलाको अध्यक्ष र उपाध्यक्षमा दुवै पुरुष निर्वाचित भएका छन्। कांग्रेसका तर्फबाट उम्मेदवार बनेका राजु आचार्य र माओवादीबाट उपाध्यक्षको उम्मेदवार बनेका दीपक आचार्य विजयी भएपछि उपाध्यक्षमा महिलाको स्थान गुमेको हो। जिल्लाका बाँकी पाँच स्थानीय तहमा भने उपप्रमुख/उपाध्यक्ष महिला नै विजयी भएका छन्।

फलेबास नगरपालिकामा माओवादी केन्द्रबाट शोभा क्षेत्री, विहादीमा एमालेकी मीना तिवारी, पैँयु गाउँपालिकामा एमालेकै यामकुमारी राना र महाशिला गाउँपालिकामा पनि एमालेबाटै उम्मेदवार बनेकी धनशोभा विक विजयी भएका हुन्।

जिल्लाका दुई नगरपालिका र तीन गाउँपालिकमा महिला उपप्रमुख वा उपाध्यक्ष हुनुहुन्छ भने बाँकी दुई पालिकामा पुरुष उपाध्यक्षमा निर्वाचित भएका छन्।

प्रकाशित मिति: १४:३४ बजे, आइतबार, जेठ ८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्