बागलुङ नगरपालिकामा आठ उम्मेदवारको धरौटी जफत
गलकाेट, जेठ ७ : वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा बागलुङ नगरपालिकामा उम्मेदवार बनेका पाँच राजनीतिक दलका उम्मेदवारको धरौटी जफत भएको छ।कूल...
गलकाेट, जेठ ७ : वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा बागलुङ नगरपालिकामा उम्मेदवार बनेका पाँच राजनीतिक दलका उम्मेदवारको धरौटी जफत भएको छ।
कूल सदर मत खसेको १० प्रतिशत मत नल्याएका दलका उम्मेदवारको धरौटी जफत हुने कानुनी व्यवस्थाअनुसार नगरप्रमुख र उपप्रमुखका आठ उम्मेदवारको धरौटी रकम जफत भएको हो। कूल ४० हजार ४१८ मतदाता रहेकामा सो नगरपालिकाका १४ वडामा २५ हजार ७९२ मत खसेको थियो।
नगरपालिकामा खसेको २४ हजार ८०० मतमध्ये पाँच पार्टीका नगरप्रमुख र उपप्रमुखका उम्मेदवारले १० प्रतिशत मत ल्याउन नसकेपछि उनीहरूको धरौटी जफत भएको छ। नगरप्रमुखका उम्मेदवार विवेकशील साझा पार्टीका सुरज खड्काले ५४ मत, नेपाल दलित पार्टीका भक्तबहादुर रसाइलीले ६३ मत, नेपाली कांग्रेस ‘बिपी’ का धना आचार्यले १२ मत, नेकपा (माले)का मन्जु क्षेत्रीले २६ मत, र नेपाल परिवार दलका नलीप्रसाद आचार्यले १२ मत पाएपछि धरौटी जफत भएको निर्वाचन कार्यालयले जनाएको छ।
नगर उपप्रमुख पदमा उम्मेदवारी दिएका नेपाल दलित पार्टीका शान्तिकुमारी नेपालीले ५२ मत, एकीकृत समाजवादीका जीवन आचार्यले ५० मत र स्वतन्त्र उम्मेदवार ताराकुमारी रिजालले ९३ मत प्राप्त गरेपछि धरौटी जफत भएको छ।











