वीरगन्जमा एमालेका उम्मेदवार सरावगीभन्दा १४ हजार बढी मतसहित जसपाका सिंह अग्रस्थानमा
वीरगन्ज महानगरमा हालसम्म विभिन्न १५ वडाको मात्र मतगणना सम्पन्न भएको छ भने ३२ वटा वडा रहेको यस महानगरमा अन्य वडाको मतपरिमाण आउन बाँकी छ।
वीरगन्ज, जेठ ७ : मधेस प्रदेशस्थित पर्साको वीरगन्ज महानगरपालिकाको पछिल्लो मतगणनाअनुसार प्रमुख पदमा गठबन्धनका उम्मेदवार जनता समाजवादी पार्टीका राजेशमान सिंहले २८ हजार ३५२ मतसहित अग्रतालाई निरन्तरता दिएका छन्।
उनका प्रत्यासी एमाले उम्मेदवार विजयकुमार सरावगी १४ हजार ७०५ मतसहित उनीसँग प्रतिस्पर्धामा गरिरहेका छन्।
यसैगरी उपप्रमुखमा पनि गठबन्धनकै उम्मेदवार नेपाली कांग्रेसका इम्तियाज आलम कुल १९ हजार ९०२ मतसहित अग्रतालाई निरन्तरता दिएका छन् भने उनका प्रत्यासी लोसपाका नेता पुरुषोत्तमलाल झा ४ हजार ४ सय २३ मतसहित उनीसँग प्रतिस्पर्धामा छन्।
महानगरमा हालसम्म विभिन्न १५ वडाको मात्र मतगणना सम्पन्न भएको छ भने ३२ वटा वडा रहेको यस महानगरमा अन्य वडाको मतपरिमाण आउन बाँकी छ। मतणना गर्न लामो समय लाग्ने भएका कारणले अन्तिम नतिजा आउन एक साता लाग्ने बताइन्छ।
महानगरको नेतृत्वका लागि गठबन्धन बनाउँदा कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा) का बीच तालमेल बनाएर सिंहलाई उम्मेदवार बनाएको थियो भने एमाले र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बीच अर्को समूह बनाएर निवर्तमान प्रमुख सरावगीलाई उम्मेदवार बनाएको थियो।











