Kathmandu Press

पोखरा प्रमुखमा आचार्य र उपप्रमुखमा गुरुङको अग्रता कायमै

पोखरामा शनिबार ८६ हजार २५७ मतगणना सकिँदा आचार्यले ३४ हजार ८१९ मत प्राप्त गरेका छन्।
पोखरा प्रमुखमा आचार्य र उपप्रमुखमा गुरुङको अग्रता कायमै

पाेखरा, जेठ ७ : स्थानीय तह सदस्य निर्वाचन-२०७९ अन्तर्गत पोखरा महानगरपालिकामा जारी मतगणनामा सत्ता गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका प्रमुखका उम्मेदवार धनराज आचार्यले आफ्नो अग्रता कायमै राखेका छन्।

पोखरामा शनिबार ८६ हजार २५७ मतगणना सकिँदा आचार्यले ३४ हजार ८१९ मत प्राप्त गरेका छन्।

उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका कृष्ण थापाले ३१ हजार ३७४ मतसहित आचार्यलाई पछ्याइरहेका छन्। प्रमुखमा आचार्य र थापाको मतान्तर २ हजार ८१५ रहेको छ। पोखरामा एक लाख ४३ हजार २२६ मत खसेको थियो।

त्यस्तै प्रमुखमा राप्रपाका शङ्कर खरालले ३ हजार ८८१ मत पाउँदा लौरो चुनाव चिह्नबाट स्वतन्त्र उमेदवार खडकराज पौडेल (गनेस) दुई हजार ३५० मतसहित चौथो स्थानमा छन्।

यसैगरी महानगरको उपप्रमुखमा एमालेका मञ्जुदेवी गुरुङले ५१० मतले अग्रता बनाएकी छन्। गुरुङले ३५ हजार ७९९ मत प्राप्त गर्दा कांग्रेसका कोपिला रानाभाटले ३५ हजार २८९ मत ल्याएकी छन्। गणनाको सुरुआतदेखि अग्रता बनाएका रानाभाट शुक्रबार रातिदेखि गणनामा पछि पर्नुभएको हो।
 
पोखरा महानगरका ३३ वडामध्ये हालसम्म १९ वडाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ। जसमा नेपाली कांग्रेसले १५ वडामा जित हासिल गरेको छ भने एमालेले पाँच वडा जितेको छ । गत वैशाख ३१ गतेदेखि मतगणना सुरु भएकामा हालसम्म कांग्रेसले वडा २, ३, ४, ७, ९, १२, १३, १४, २३, २४ ,२५, २६, २७ र २८ वडा जितेको हो।

एमाले वडा १, ५, ६, ८ र वडा २० मा विजयी भएको छ। 

प्रकाशित मिति: १५:४२ बजे, शनिबार, जेठ ७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्