जुम्लामा कांग्रेस पाँच पालिकामा कांग्रेस, दुईमा माओवादी र एकमा स्वतन्त्रको नेतृत्व

काठमाडाैं, जेठ ७ : जुम्लाको आठ स्थानीय तहमध्ये पाँच तहमा नेपाली कांग्रेसले जित हासिल गरेको छ। दुई तहमा माओवादी केन्द्रले विजय हासिल गरेको छ भने यहाँको एक मात्र चन्दननाथ नगरपालिका स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन्।
उक्त नगरमा स्वतन्त्र उम्मेदवार राजुसिंह कठायतले २ हजार ४ सय ३ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी कांग्रेसका पदमबहादुर शाही दुई हजार ३४१ मत प्राप्त गरेका थिए।
कांग्रेसले हिमा, कनकासुन्दरी गाउँपालिकामा उपाध्यक्ष र चन्दननाथ नगरमा उपप्रमुख जितेको हो।
त्यस्तै माओवादीले तिला, सिंजा गाउँपालिकाको अध्यक्ष तथा उपाध्यक्षसहित जित हासिल गरेको छ। तातोपानी, पारारासी गाउँपालिकाको उपाध्यक्ष पनि माओवादीले जितेको हो।
नेकपा एकीकृत समाजवादी पार्टीले जिल्लाको गुठीचौर गाउँपालिकाको उपाध्यक्ष मात्र जितेको छ।
२०७४ को निर्वाचनमा माओवादीले तीन अध्यक्ष र पाँच उपाध्यक्ष जितेको थियो। एमालेले तिला गाउँपालिको अध्यक्ष र सिंजा गाउँपालिकाको उपाध्यक्ष जितेको थियो। जिल्लामा अहिले एमालेले आफ्नो बिरासत गुमाएको छ।
यसैबीच जिल्लाको हिमा गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष सुन्दर लक्ष्मण शाहीले पदभार ग्रहण गरेका छन्।
शपथग्रहणलगत्तै अध्यक्ष शाहीले गाउँपालिकाका सम्पूर्ण घरपरिवारका नागरिकका लागि निःशुल्क स्वास्थ्य बीमा गर्ने निर्णय गर्नुभएको छ।
६० वर्षमाथिका ज्येष्ठ नागरिक, गर्भवती, सुत्केरी, गरिब विपन्न, अपांगता भएका तथा असहाय व्यक्तिका लागि निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गर्ने निर्णय गरेको शाहीले बताए।











