सगरमाथा आरोही डा. प्रीति भुसाललाई सम्मान

काठमाडाैं, जेठ ७ : ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेकी डा. प्रीति भुसाललाई सम्मान गरेको छ। आज काठमाडाैंमा आयोजित कार्यक्रममा अस्पतालका अध्यक्ष तथा इञ्जीनियर दीपक कुँवरले वैशाख २९ गते बिहान सगरमाथाको सफल आरोहण गरेकी उनलाई सम्मान गरेकोे हो। डा. भुसाल सोही अस्पतालमा कार्यरत छिन्।
अध्यक्ष कुँवर र कार्यकारी निर्देशक डा. विनोद बिजुक्छेले नेपाली महिला चिकित्सकका तर्फबाट सगरमाथा आरोहण गरेर विश्व कीर्तिमान कायम गरी ग्राण्डी अस्पतालको समेत नाम राख्न सफल भएको भन्दै बधाई दिए।
आरोही डा. भुसालले कोभिड-१९ को लडाइँविरुद्ध अग्रपङ्क्तिमा रहेर काम गर्ने चिकित्सक, नर्स, अस्पताल प्रशासनका कर्मचारी, एम्बुलेन्स चालकको उच्च सम्मानका लागि आफूले सगरमाथा आरोहण गरेको बताइन्।
यस्तै प्रकृतिमा जलवायु परिवर्तनको असर कम गर्नाको विकल्प नरहेको सन्देश दिन र हिमालयन क्षेत्रमा बढ्दो प्रदूषण रोक्नुपर्ने सन्देश दिन पनि आफूले सगरमाथाको आरोहण गरेको उनको भनाइ थियोे।
हिमालयन सेफ्हर्ड इको टुरिजममार्फत सगरमाथाको सफल आरोहण गर्नुभएकी डा भुसालले सन् २०१९ को अप्रिलमा सोलुखुम्बुको छ हजार ११९ मिटर लोपुचे हिमालको सफल आरोहण गरेकी थिइन्। उनी सगरमाथा आरोहण गर्ने पहिलो नेपाली महिला चिकित्सक हुन्।











