कालीकोटमा हावाहुरी र असिनापानीले बालीमा क्षति
कालीकोट, जेठ ७ : कालीकोटमा शुक्रबार बेलुका आएको हावाहुरीसहितको असिना–पानीले किसानका बालीमा क्षति पुर्याएको छ। मकै, स्याउ र बेमौसमी तरकारीबालीमा हावाहुरी, असिना–पानीले क्षति...
कालीकोट, जेठ ७ : कालीकोटमा शुक्रबार बेलुका आएको हावाहुरीसहितको असिना–पानीले किसानका बालीमा क्षति पुर्याएको छ। मकै, स्याउ र बेमौसमी तरकारीबालीमा हावाहुरी, असिना–पानीले क्षति पुर्याएको हो।
भर्खरै उम्रिँदै गरेका र बढ्न थालेका मकै हावाहुरीसहितको असिना–पानीले नष्ट गरेको खाँडाचक्र नगरपालिका–२ का किसान अनिपाल विकले बताए। ‘मकैका हुर्किसकेका बिरुवा र उम्रिँदै गरेका बिरुवामा असर पुर्याएको छ,’ उनले भने, 'पुनः हामीले मकैबाली लगाउने तयारी गरेका छौं।'
किसानले लगाएको बेमौसमी तरकारी तथा अन्नबालीमा क्षति पुर्याएको र यसले किसान मारमा परेको सोही वडाका हजुरा विष्टले बताए। 'मेलै एउटा खेत पुरै प्याज तथा अन्य बेमौसमी तरकारी खेती गरेको थिए,' उनले भने, 'हावाहुरी, असिना पानीका कारणले दुई लाखभन्दा बढीको क्षति भएको छ।'
जिल्लाभर आएको हावाहुरी तथा असिना–पानीले स्याउखेतीमा पनि असर गरेको तिलागुफा नगरपालिका–१ का किसान राजबहादुर बुढाले बताए। 'स्याउका बोटमा भर्खर चिचिला लाग्दै थिए, हावाहुरीसहित आएको असिना पानीले ती सबै चिचिलाहरू झारेको छ,' उनले भने।
स्याउ उत्पादनका लागि यो मौसममा पानी पर्दा उपयुक्त हुने र हावाहुरी असिना पर्दा उत्पादनमा कमी आउने रास्कोट नगरपालिका–९ का नवराज रोकायाले बताए।
कालीकोटका तिलागुफा नगर र रास्कोट नगर स्याउ–क्षेत्र हुन्। खाँडाचक्र नगरलाई तरकारी पकेट क्षेत्र र नरहरिनाथ गाउँपालिकालाई मकै पकेट क्षेत्रका रूपमा जिल्ला कृषि विकास कार्यालयले घोषणा गरेको छ।











