Kathmandu Press

निर्वाचनले रक्तदान कार्यक्रम नहुँदा पोखरामा रगत अभाव

कास्की, जेठ ५ : स्थानीय तह निर्वाचनका कारण एक साताभन्दा बढी समयदेखि रगत आपूर्ति नहुँदा पोखरामा अत्यावश्यक रगतको अभाव भएको छ।निर्वाचनका समयमा विभिन्न...
निर्वाचनले रक्तदान कार्यक्रम नहुँदा पोखरामा रगत अभाव

कास्की, जेठ ५ : स्थानीय तह निर्वाचनका कारण एक साताभन्दा बढी समयदेखि रगत आपूर्ति नहुँदा पोखरामा अत्यावश्यक रगतको अभाव भएको छ।

निर्वाचनका समयमा विभिन्न सङ्घ संस्थाले आयोजना गर्ने रक्तदानका कार्यक्रम रोकिएपछि नेपाल रेडक्रस सोसाइटी कास्कीअन्तर्गतको क्षेत्रीय रक्तसञ्चार केन्द्र पोखरामा रगत अभाव भएको हो।

केन्द्रमा रगत अभाव हुन थालेपछि अस्पतालमा उपचाररत बिरामीलाई आपूर्तिमा कठिनाइ हुन थालेपछि आज आकस्मिक रक्तदान कार्यक्रम आयोजना गरिएको छ। सिर्जना विकास केन्द्रको आयोजना र रक्त सञ्चार केन्द्रको समन्वयमा पोखरा महानगरको मतगणना भइरहेको शहीदचोकस्थित उपत्यका नगर विकास समिति भवन अगाडि गरिएको कार्यक्रमबाट ६६ युनिट रगत सङ्कलन भयो।

Hardik ivf

क्षेत्रीय रक्त सञ्चार केन्द्र पोखराका प्रमुख अर्जुन ज्ञवालीले वैशाख २६ गतेदेखि नियमित रक्तदान कार्यक्रम नहुँदा केन्द्रमा रगत अभावपछि आकस्मिक कार्यक्रम गर्नुपरेको बताए। अभावका समयमा व्यक्ति तथा संस्थाले कार्यक्रम आयोजना गरेर रगत उपलब्ध गराउनसमेत उनले आग्रह गरे।

उनले भने, 'मानिस स्थानीय चुनावमा व्यस्त भए, चुनावपछि पनि परिणाम कुर्दा सङ्घ संस्थाले गर्ने रक्तदानका कार्यक्रम नियमित हुन सकेनन्। अहिले रगतको अभाव भएपछि सबैलाई सहयोग गर्न आग्रह गरेका छौँ। आकस्मिक कार्यक्रम भोलि पनि गर्छौं।'

रक्तसञ्चार केन्द्रले अहिले रगत छैन भनेपछि सबैबाट सहयोग प्राप्त भएकाले हाहाकारको अवस्था भने नरहेको जनाएको छ। सहज आपूर्तिका लागि दैनिक कार्यक्रम हुनुपर्ने प्रमुख ज्ञवालीले बताए।

सिर्जना विकास केन्द्रका अध्यक्ष इन्द्रप्रसाद पौडेलले गणतन्त्र दिवसका अवसरमा संस्था बर्सेनि खुला रक्तदान कार्यक्रम गर्ने गरे पनि अहिले रगत अभाव भएको जानकारी प्राप्त भएपछि नियमित कार्यक्रम अघि सारिएको बताए।

गण्डकी प्रदेशको राजधानीसमेत रहेको पोखरामा दैनिक ७० देखि ८० युनिट रगत आवश्यक पर्ने रक्तसञ्चार केन्द्रले जनाएको छ।

प्रदेशका अन्य जिल्लाबाट समेत यहाँका अस्पतालमा बिरामी उपचारका लागि सिफारिस भएर आउने भएकाले पोखरामा रगतको माग उच्च हुने गरेको छ।

प्रकाशित मिति: १९:२३ बजे, बिहीबार, जेठ ५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्