रोल्पामा माओवादी ७, कांग्रेस २ र एमाले एक पालिकामा विजयी
राेल्पा, जेठ ४ : रोल्पाका दसवटै पालिकाको मतगणना सम्पन्न भएको छ। आज सम्पन्न मतगणनाअनुसार नेकपा (माओवादी केन्द्र) सात, नेपाली कांग्रेस दुई र नेकपा...
राेल्पा, जेठ ४ : रोल्पाका दसवटै पालिकाको मतगणना सम्पन्न भएको छ। आज सम्पन्न मतगणनाअनुसार नेकपा (माओवादी केन्द्र) सात, नेपाली कांग्रेस दुई र नेकपा एमाले–कांग्रेस गठबन्धन एउटा पालिकामा विजयी भएका छन्।
रोल्पा नगरपालिकामा माओवादी केन्द्रबाट सुरेन्द्र थापा घर्ती प्रमुखमा विजयी हुनुभएको छ । थापाघर्तीले सात हजार ६३० ल्याएका थिए भने उनका निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार शेरबहादुर थापाले तीन हजार ६५८ मत ल्याए। उपप्रमुखमा गीता आचार्यले सात हजार ७४१ मत ल्याएर विजयी भइन। निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी पुष्पा श्रेष्ठले तीन हजार ७१९ प्राप्त गरेकी छन।
थबाङ गाउँपालिकामा माओवादी केन्द्रका उम्मेदवार ऋषिकेशव बुढामगर अध्यक्षमा र उपाध्यक्षमा शर्मिला बुढामगर विजयी भए। ऋषिकेशव दुई हजार १२२ मतसहित निर्वाचित भए भने उनका निकटम प्रतिद्वन्द्वी दर्जित रोकामगरले एक हजार ५०६ मत प्राप्त गरे। उपाध्यक्षमा शर्मिला बुढामगर दुई हजार १२२ मतले निर्वाचित भइन।
सुनिल स्मृति गाउँपालिकामा छ हजार ६२ मत ल्याई मणिराम बुढाथोकी विजयी भए। उपाध्यक्षमा मीना थापाले छ हजार ३७ मत ल्याएर निर्वाचित भए। सुनछहरी गाउँपालिकामा माओवादी केन्द्रका धनबहादुर पुनमगर तीन हजार ४३९ मतका साथ विजयी भए। भने उपाध्यक्षमा ननकला घर्ती मगर तीन हजार ४९२ मत प्राप्त गरी निर्वाचित भइन।
माडी गाउँपालिकामा अमरसिंह घर्ती तीन हजार ८३० मतसहित विजयी बने। उपाध्यक्षमा जयपुरी घर्ती तीन हजार ९६६ मत प्राप्त गरी निर्वाचित भइन। त्रिवेणी गाउँपालिकाको अध्यक्षमा कणर्बहादुर बाँठामगर पाँच हजार ८५ मत लिई विजयी भए। उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका रेशम पुन चार हजार ४६३ मत ल्याएर पराजित भए। उपाध्यक्षमा कांग्रेसका लेखमणि खड्काले चार हजार ५७६ मत ल्याई विजयी भए।
त्यसैगरी गङ्गादेव गाउँपालिकामा नेपाली कांग्रेसका हरिबहादुर पुनमगरले अध्यक्षमा दुई हजार ५५७ मतका साथ अध्यक्ष पदमा निर्वाचित भए। उपाध्यक्षमा अमृता केसी वली दुई हजार ९०९ मतका साथ विजयी भए।
विसं २०७४ को स्थानीय तहको निर्वाचनमा जिल्लाको एउटा पालिकामा खुम्चिएको कांग्रेसले यस पटक दुई पालिका जितेको छ। एमाले र माओवादीले जितेका पालिकामा यसपालि कांग्रेसले जित निकालेको हो। यसपटकको रुन्टीगढी गाउँपालिका एमालेले गुमाएको छ। माओवादी केन्द्र र समाजवादीले केही पालिकामा गठबन्धन गरेका थिए। अधिकांश पालिकामा एमाले, कांग्रेस, विप्लव नेतृत्वको नेकपाबीच गठबन्धन भएको थियो।











