दोधारा चाँदनीमा एमालेका लिम्बू नगरप्रमुखमा निर्वाचित

कञ्चनपुर, जेठ ४ : कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकाको नगरप्रमुख पदमा नेकपा एमालेका उम्मेदवार किशोर लिम्बू निर्वाचित भएका छन्।
आज सम्पन्न मतगणनामा नेपाली कांग्रेसका उम्मेदवार गोपालदत्त भट्टलाई ९३३ मत अन्तरले पराजित गर्दै लिम्बू नगरप्रमुखमा निर्वाचित भएका हुन्। लिम्बूले ७ हजार १ सय ४ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिस्पर्धी भट्टले छ हजार १७१ मत ल्याएका छन्।
त्यसैगरी नेकपा माओवादी केन्द्रबाट नगरप्रमुखको उम्मेदवार रहेकी निरुदेवी कामीले ७७६ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
त्यसैगरी उपप्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार गंगादेवी जोशी निर्वाचित भएकी छन्। उनी ६ हजार ३६५ मत प्राप्त गर्दै निर्वाचित भएकि हुन्। उपप्रमुखमा नेकपा एमालेका उम्मेदवार खिमा चन्दले ५ हजार ८२२ मत प्राप्त गरेकी छन्।
२६ हजार ८०३ मतदाता रहेको दोधारा चाँदनीमा यसअघि प्रमुखमा नेपाली कांग्रेस र उपप्रमुखमा नेकपा एमालेका उम्मेदवार निर्वाचित भएका थिए।
१० वटा वडा रहेको दोधारा चाँदनीमा नेकपा एमालेले छ वडाध्यक्षसमेत जितेको छ। नौवटा पालिका रहेको कञ्चनपुरमा नेकपा एमालेले दुई र नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले एक÷एक पालिकामा जित निकालेको छ।












