शङ्खरापुरको नगरप्रमुखमा राप्रपा र उपप्रमुखमा कांग्रेसको अग्रता
काठमाडौं, जेठ ३ : काठमाडौंको शङ्खरापुर नगरपालिकाको नगरप्रमुखमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का रमेश नापितले अग्रता लिएका छन् । वैशाख ३० गते सम्पन्न निर्वाचनको...
काठमाडौं, जेठ ३ : काठमाडौंको शङ्खरापुर नगरपालिकाको नगरप्रमुखमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का रमेश नापितले अग्रता लिएका छन् । वैशाख ३० गते सम्पन्न निर्वाचनको जारी मतगणनामा नापितले तीन हजार ७०३ मत पाएका हुन् ।
उनलाई पछ्याउँदै नेकपा (एकीकृत समाजवादी) का लक्ष्मीप्रसाद (एलपी) श्रेष्ठले तीन हजार ४८५ मत प्राप्त गरेको नगर निर्वाचन कार्यालयले जनाएको छ। नेकपा एमालेका कृष्णलाल बजगाइँले तीन हजार १०६ मत पाएको छ । नेकपा (माओवादी केन्द्र) का मधु (नीरज) केसीले दुई हजार ८५ मतका साथ प्रतिस्पर्धामा छन्।
यसैगरी उपप्रमुखमा नेपाली कांग्रेसकी समिता श्रेष्ठको अग्रता छ । उनले पाँच हजार ५३४ मत पाएकी छन् । राप्रपाकी विजयकुमारी वाइवाले दुई हजार ५४२ मत पाएकी छन् । एमालेकी लक्ष्मी केसीले दुई हजार ३४० मतका साथ पछ्याएका छन्। नेकपा मोवादीकी चण्डिका दङ्गालले दुई हजार १३२ मत पाएकी छन्। कुल २२ हजार ५०० मतदाता रहेको नगरपालिकामा १७ हजार १५० मत खसेको थियो। हालसम्म १४ हजार ४३३ मतगणना सम्पन्न भएको छ । दुई हजार ७१७ मत गन्न बाँकी रहेको उनले सुनाए।
४ मा काँग्रेस र ७ मा राप्रपा विजयी
नगरपालिकाको वडा नं. ४ मा कांग्रेसका वडा अध्यक्षसहित प्यानल विजयी भएको छ। कांग्रेसका सुनाबहादुर तामाङ नेतृत्वको समूह वडामा विजयी भएको हो । वडा नं.७ मा राप्रपाका विष्णुप्रसाद श्रेष्ठ समूहसहित विजयी भएका छन् । श्रेष्ठ विसं २०७४ को स्थानीय तह निर्वाचनमा पनि वडाअध्यक्ष विजयी भएका थिए । वडा नं १ एमाले, २ मा काँग्रेस, ३ मा माओवादी, ८ र ९ मा पनि कांग्रेस यसअघि नै निर्वाचित भइसकेका छन्।
अहिलेसम्म नगरपालिकाको सात वटा वडाको मतगणना सकिएको छ । नौ वटा वडा रहेको नगरपालिकाको वडा नं ५ र ६ को अहिले मतगणना भइरहेको छ । आज बेलुकीसम्म अन्तिम परिणाम सार्वजनिक गर्ने निर्वाचन कार्यालयको तयारी छ । यसअघिको निर्वाचनमा नगरपालिकाको प्रमुख र उपप्रमुखमा एमाले विजयी भएको थियो । सो निर्वाचनमा पाँच वटा वडा पनि एमालेले जितेको थियो।












