कैलारी गाउँपालिकाका तीन वडामा कांग्रेस विजयी

काठमाडौं, जेठ २ : कैलालीको कैलारी गाउँपालिकाको वडा १, २, ३ को वडाध्यक्ष पदमा नेपाली कांग्रेस विजयी भएको छ।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार वडा– १को अध्यक्षमा कांग्रेसका धोजपाल बोहरा एक हजार ११५मत प्राप्त गरी विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र)का बालकृष्ण डगौराले ६६० मत पाएका छन्।
वडा २ को अध्यक्षमा कांग्रेसका विकास चौधरी एक हजार ४० मत प्राप्त गरी विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी माओवादीका दयाशङ्कर चौधरीले ८५६मत पाएका छन्।
यसैगरी वडा ३ को अध्यक्षमा कांग्रेसकै सन्तराम चौधरी एक हजार १२ मतसहित विजयी भएका छन्। उनी उक्त वडाको ‘भलमन्सा’को जिम्मेवारीमा पनि छन् । निकटतम प्रतिद्वन्द्वी माओवादीका कैलाश चौधरीले ७७३ मत पाप्त गरे।
विसं २०७४ को स्थानीय तहको चुनावमा यी वडाहरूमा माओवादीका उम्मेदवार विजयी भएका थिए । मतगणनाको पछिल्लो परिणामअनुसार गाउँपालिकाको अध्यक्षमा कांग्रेसका राजसमझ चौधरी तीन हजार चार मतसहित अगाडि छन् । उनलाई राप्रपाका होमबहादुर गुरुङले दुई हजार ६७८ मतसहित पछ्याइरहेका छन्।
उपाध्यक्षमा कांग्रेसकै भगवतीकुमारी चौधरी तीन हजार ५३ मतसहित अगाडि छन् । उनलाई राप्रपाका दुई हजार २५३ सहित पछ्याइरहेका छन् । नौ वडा रहेको गाउँपालिकाका बाँकी वडामा मत गणना जारी छ ।
धनगढी उपमहानगरपालिका १ को अध्यक्षमा कांग्रेसका सन्तोष मुडभरी एक हजार २६९ मत प्राप्त गरी निर्वाचित भएका छन्।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको अन्तिम मतपरिणामअनुसार मुडभरीका निकटतम प्रतिद्वन्द्वी माओवादीका यदु सुनारले ५९६ मत प्राप्त गरेका छन्। वडाका अन्य चार सदस्य पदमा समेत कांग्रेसका प्रत्यासी विजयी भएका छन् । मुडभरी निवर्तमान वडाध्यक्षसमेत थिए ।












