वीरगञ्ज महानगरपालिकामा गठबन्धनका सिहंको अग्रता
वीरगञ्ज, जेठ १ : मधेश प्रदेशको एक मात्र महानगरपालिका पर्साको वीरगञ्ज महानगरपालिकाको पछिल्लो मतगणनाअनुसार प्रमुख पदमा गठबन्धनका उम्मेदवार राजेशमान सिंहले दुई हजार २८२...
वीरगञ्ज, जेठ १ : मधेश प्रदेशको एक मात्र महानगरपालिका पर्साको वीरगञ्ज महानगरपालिकाको पछिल्लो मतगणनाअनुसार प्रमुख पदमा गठबन्धनका उम्मेदवार राजेशमान सिंहले दुई हजार २८२ मतसहित अग्रतालाई निरन्तरता दिएका छन।
यसैगरी नेकपा (एमाले)का उम्मेदवार विजयकुमार सरावगीले ९१६ मतसहित उहाँसँग प्रतिस्पर्धामा छन। महानगरपालिकाको मतगणना अनुसार हाल वडा न १, २, ३१ र ३२ को मतगणना जारी छ। मतणना गर्न लामो समय लाग्ने भएकाले अन्तिम नतिजा आउन एक साता लाग्ने छ।
महानगरपालिका नेतृत्वका लागि गठबन्धन बनाउँदा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) (एस) र जनता समाजवादी पार्टी (जसपा)का बीच एक समूह बनाएर तालमेल बनाएर सिंहलाई उम्मेदवार बनाएको छ भने नेकपा (एमाले) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बीच आर्को समूह बनाएर निवर्तमान् प्रमुख सरावगीलाई उम्मेदवार बनाएको हो।
यद्यपि पर्साका वीरगञ्ज महानगरपालिका बाहेकका अन्य पालिकामा राजनीतिक दलबीच खासै तालमेल भएको छैन। पर्सामा मधेश प्रदेशको एक मात्र महानगरपालिका, वीरगञ्ज महानगरपालिकासहित अन्य तीन वटा नगरपालिका र १० वटा गाउँपालिका रहेका छन्। पर्साका अन्य पालिकामा पनि मतगणना जारी छ। जिल्लाको १४ वटौ पालिकामा मतगणनाका लागि मतगणनास्थलमा आवश्यक फलामे तारजालीसहित सिसिटिभि जडान गरी व्यवस्थापना मिलाइएको छ।
पर्सामा रहेका कूल १४ वटा पालिकाको विभिन्न पदको जनप्रतिनिधिका निर्वाचनमा लागि कूल तीन हजार २९७ जना चुनावी प्रतिस्पर्धामा रहेका हुन्। पालिका रहेको पर्सामा हाल एक लाख ४८ हजार २८३ जना महिला र एक लाख ९१ हजार ५३७ जना पुरुष र १६ जना तेस्रो लिङ्गी गरी तीन लाख ३९ हजार ८३६ जना मतदाता रहेका थिए।












