महाकाली नदीमा पानीको शुद्धता परीक्षण
डडेल्धुरा, कात्तिक ६ : महाकालीको पानीको शुद्धता परीक्षण पश्चात सरोकारवालाहरुसँगको अन्तर्क्रिया कार्यक्रम परशुराम नरपालिकामा सम्पन्न भएको छ।....

डडेल्धुरा, कात्तिक ६ : महाकालीको पानीको शुद्धता परीक्षण पश्चात सरोकारवालाहरुसँगको अन्तर्क्रिया कार्यक्रम परशुराम नरपालिकामा सम्पन्न भएको छ।
समुदाय स्तरमा गठित महिला सशक्तिकरण केन्द्र, स्थानीय विद्यालयका शिक्षक विद्यार्थी, नेपाल भारत पैरवी मञ्चका प्रतिनिधि र नदी तटीय समुदायका स्थानीय व्यक्तिहरुको सहभागितामुलक ढंगबाट महाकाली नदीको पानीको शुद्धता मापन गर्ने कार्य दार्चुलाको लास्कु गाडदेखि कञ्चनपुरको पिपरीयासम्म यस कार्यलाई सम्पन्न गर्न ग्रामिण महिला विकास तथा एकता केन्द्र रुडुक र अक्सफाम नेपालको संयुक्त साझेदारीमा सञ्चालित दक्षिण एसियाली अन्तरदेशीय सीमावर्ती नदीहरुको पानीको सामुदायिक सदुपयोग परियोजना ट्रोसाले सहजीकरण सहयोग गरेको छ।
महाकाली नदीमा मिसिने मुख्य खोलानाला, नदी र बस्ती नजिक गरी नेपालतर्फ ३१ र भारततर्फ १० गरी कुल ४१ स्थानमा पानीको शुुद्धता मापन गरिएको छ। पानीको पीएच, टिडिएसको मापन समुदायस्तरमै र डीओ र बीओडी प्रयोगशाला परीक्षणमार्फत सम्पन्न गरीे सीमा नदीको पानीको गुणस्तरबारे स्थानीय एवं जिल्लाका सरोकारवालाहरुसँग अन्तर्क्रिया कार्यक्रम समेत सम्पन्न गरिएको छ।
विगतदेखि नै परियोजनाले बेला–बेलामा दार्चुलादेखि कञ्चनपुरसम्मको महाकाली नदीको पानीको शुद्धता परीक्षण गर्दै आएको छ। परशुराम नगरपालिकाका नगरप्रमुख भीम बहादुर साउदको अध्यक्षतामा सञ्चालित कार्यक्रमका प्रमुख अथिति जिल्ला समन्वय समिति डडेल्धुराका प्रमुख गणेश राज भट्ट रहेका थिए।
कार्यक्रममा जिसस संयोजक भट्टले पानीको शुद्धता परीक्षण गरिनु निकै सकारात्मक विषय भएको भन्दै परियोजनाको कार्यशैली तथा उपलब्धीको प्रशंसा गरे।
यस्तै, कार्यक्रममा नगर प्रमुख साउदले वैज्ञानिक तवरले गरिएको पानीको शुद्धता परीक्षणले स्वास्थ्यलाई फाइदा पुग्ने बताएका थिए। आँखाले देखिने फोहोर पानीलाई मात्रै दुषित पानी नभनिकन शुद्ध पानीका बारेमा ज्ञान लिइराख्न जरुरी रहेको उल्लेख गरेका थिए।
नदीको तटीय भूभाग क्षेत्रमा बसोबास गर्ने समुदायको पहुँच वृद्धि र नदी तटीय समुदायको गरिबी न्यूनीकरणमा सहयोग पुर्याउने उद्देश्यका साथ डडेल्धुरामा दक्षिण एशियाली अन्तरदेशीय सीमा नदीको पानीको सामुदायिक सदुपयोग परियोजना ट्रोसा सञ्चालन भएको रुडुकका कार्यकारी निर्देशक सरस्वती खड्काले जानकारी गराइन्।
कार्यक्रममा पानीको शुद्धता परीक्षणका परामर्शदाता कृष्णदेव जोशीले महाकाली नदीमा बग्ने पानीको शुद्धता, फोहोर मैलाको अवस्था, पानीको मापन शैली लगायतका बारेमा तयार पारिएको तथ्यांक प्रस्तुत गरेका थिए।









-(86)-1764936079.jpg)


-1764760320.jpg)