मकवानपुरमा मतगणना जारी
हेटौंडा, जेठ १ : मकवानपुरको हेटौँडा उपमहानगरपालिका, थाहा नगरपालिका र आठ गाउँपालिकाको मतगणना कार्य जारी छ । हेटौँडा उपमहानगरपालिकाको १, २, १८ र १९ नं...
हेटौंडा, जेठ १ : मकवानपुरको हेटौँडा उपमहानगरपालिका, थाहा नगरपालिका र आठ गाउँपालिकाको मतगणना कार्य जारी छ ।
हेटौँडा उपमहानगरपालिकाको १, २, १८ र १९ नं वडाको मतगणना अन्तिम चरणमा पुगेको छ भने थाहा नगरपालिकाको एक वडामा नेकपा माओवादी केन्द्रका उम्मेदवार विजयी भएको मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले जानकारी दिएका छन्।
उनका अनुसार हालसम्म मकवानपुरको १९ वडाको मतगणना पूर्णरुपमा सम्पन्न भइसकेको छ । तीमध्ये आठ वटा वडामा नेपाली कांग्रेस विजयी भएको छ भने ७ वडामा माओवादी केन्द्रले जित हात पारेको छ । त्यस्तै ४ वटा वडामा नेकपा एमालेले नेतृत्व लिन सफल भएको छ।
कांग्रेसबाट भीमफेदी गाउँपालिका वडा नं १ मा सोमबहादुर स्याङ्तान, कैलाश गाउँपालिका वडा नं १ मा तेजबहादुर ब्लोन, कैलाश गाउँपालिका वडा नं २ मा राजेन्द्र तामाङ घिसिङ, मनहरि गाउँपालिका वडा नं १ मा शिवप्रसाद खनाल, मकवानपुरगढी गाउँपालिका वडा नं १ मा आइत सिंह लो, मकवानपुरगढी– ८ मा कुमार घिसिङ, इन्द्रसरोबर गाउँपालिका १ र २ मा क्रमशः सुवास थापा र सुमन श्रेष्ठ निर्वाचित भएका हुन्।
त्यसैगरी नेकपा माओवादी केन्द्रको तर्फबाट भीमफेदी–३ मा पृतिलाल लामा, थाहा नगरपालिका–१ मा हेरमान गोपाली, थाहा–२ मा बमबहादुर सिङतान, बकैया–१ मा आषिश तितुङ, बकैया–२ मा विश्वराज स्याङतान, मनहरी–२ मा राजकुमार पाख्रीन र बागमती–१ मा यहुन्ना राई निर्वाचित भएका छन्।
त्यसैगरी नेकपा एमालेको तर्फबाट भीमफेदी–२ मा काशीराम बज्यु, भीमफेदी–४ मा सागर पाण्डे, कैलाश–१० मा सूर्यबहादुर ब्लोन र राक्सिराङ–१ मा बाबीराम मुक्तान निर्वाचित भएका छन् । सबै पालिकामा अहिले मतगणना जारी रहेको मुख्य निर्वाचन अधिकृत श्रेष्ठले जानकारी दिए।












