वीरेन्द्रनगरमा कांग्रेसको अग्रता
सुर्खेत, जेठ १ : सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाको प्रमुखमा नेपाली कांगे्रसले अग्रता लिएको छ। हालसम्मको मतगणनाअनुसार प्रमुख पदका उम्मेदवार कांग्रेसका उपेन्द्रबहादुर खड्काले एक हजार...
सुर्खेत, जेठ १ : सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाको प्रमुखमा नेपाली कांगे्रसले अग्रता लिएको छ। हालसम्मको मतगणनाअनुसार प्रमुख पदका उम्मेदवार कांग्रेसका उपेन्द्रबहादुर खड्काले एक हजार ८४९, एमालेका मोहनमाया ढकालले एक हजार ७९७ र राप्रपाका मुकुन्दश्याम गिरीले ७६९ मत प्राप्त गरेका छन्।
त्यस्तै जनता समाजवादी पार्टीका गगनबहादुर सारुले २२, नेपाल मजदुर किसान पार्टीका गोविन्दनाथ योगीले १३, नेकपा एकीकृत समाजवादीका धनाकुमारी जिसीले १३, राष्ट्रिय जनमोर्चाका विष्णुप्रसाद शर्माले दुई मत प्राप्त गर्नुभएको छ।
वीरेन्द्रनगरको प्रमुख र उपप्रमुख पदमा कांग्रेस र माओवादी केन्द्रबीच तालमेल छ। उपप्रमुखमा भने एमालेका नीलकण्ठ खनालले अग्रता लिएका छन्।
उनले दुई हजार ११३, माओवादीका शान्ति ढकालले एक हजार ६४९ र राप्रपाका लक्ष्मीकुमारी विकले ११९ मत प्राप्त गरेका छन्। उपप्रमुख पदका स्वतन्त्र उम्मेदवार अनिल ढकालले ८८, एकीकृत समाजवादीका वीरबहादुर रावतले ३३, नेपाल मजदुर किसान पार्टीका बिजुकला रानाले १६, जनता समाजवादी पार्टी नेपालका सन्तोषी विकले ६ मत प्राप्त गरेको छ। वीरेन्द्रनगरमा ४८ हजार ३०४ मत खसेको थियो। वडा १६ गणना सम्पन्न भइसकेको छ भने वडा १ मा गणना जारी छ।
वडा १६ को अध्यक्षमा एमालेका डण्डबहादुर विक विजयी भएका छन्। वडा १ मा कांग्रेसका दिनेश खत्रीले अग्रता लिएका छन्। वीरेन्द्रनगरमा १६ वडा छन्।
हालसम्मको मतपरिणाम अनुसार सुर्खेतको बराहताल गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका ईश्वरभक्त सुनार, पञ्चपुरी नगरपालिकाको प्रमुखमा कांगे्रसका लालवीर भण्डारी, चौकुने गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका खड्गबहादुर विकले अग्रता लिएका छन्।
चौकुनेमा कांगे्रस र माओवादी केन्द्रबीच तालमेल छ। त्यस्तै चिङगाड गाउँपालिकाको अध्यक्षमा एमालेका बोधविक्रम जिसी, भेरीगङ्गा नगरपालिकामा कांगे्रसका रामबहादुर सिंह, लेकबेँशी नगरपालिकामा कांगे्रसका उमेश पौडेल र गुर्भाकोट नगरपालिकामा कांगे्रसका हस्त पुनको अग्रता रहेको छ। सिम्ता गाउँपालिकाको वडा नं १ खनेटास्थित भगवती मावि केन्द्रमा मतदान स्थगित भएपछि यहाँ मतगणना हुन सकेको छैन।












