Kathmandu Press

लुभुकाे महालक्ष्मी महाभैरव जात्रा बिहीबार सम्पन्न हुने

ललितपुर, वैशाख २८ : ललितपुरको लुभुमा वैशाख शुक्ल अक्षय तृतीयादेखि सुरु भएको महालक्ष्मी महाभैरव जात्राको मुख्य बिहीबार सम्पन्न हुँदैछ।जात्रामा महालक्ष्मी, महाभैरव, आकाशभैरव, कुमारी,...
लुभुकाे महालक्ष्मी महाभैरव जात्रा बिहीबार सम्पन्न हुने
फाइल तस्बिर

ललितपुर, वैशाख २८ : ललितपुरको लुभुमा वैशाख शुक्ल अक्षय तृतीयादेखि सुरु भएको महालक्ष्मी महाभैरव जात्राको मुख्य बिहीबार सम्पन्न हुँदैछ।

जात्रामा महालक्ष्मी, महाभैरव, आकाशभैरव, कुमारी, कुमारलगायतलाई बाजागाजा सहित टोलटोलमा खट बिसाउँदै नगरपरिक्रमा गराउने चलन छ।

जात्रा अवधिभर महालक्ष्मी कुमारी, कुमारलाई एउटा खट र महाभैरव कुमारकुमारीलाई अर्को खटमा राखेर नगर परिक्रमा गराइन्छ। खटलाई भगवती लाछी टोल, पिङ टोल, देवीस्थान चौर, बसपार्क, नासल टोल क्वलाछी, नारायण देवल र घसी टोल घुमाइन्छ।

रातो मत्स्येन्द्रनाथको रथ जात्रासँगै लुभुको महालक्ष्मी महाभैरवको जात्रा पनि सुरु हुने गर्दछ। रातो मत्स्येन्द्रनाथको रथमा भैरवको प्रतीकका रूपमा चारमध्ये अगाडिको दायाँ पांग्रालाई लुभुको भैरवका रूपमा पुजिन्छ।

त्यसैले रातो मत्स्येन्द्रनाथको जस्तै लुभुमा खटयात्रा गरी जात्रा मनाउने परम्परा रहेको महालक्ष्मी मन्दिरका मूल पुजारी श्याम शरण श्रेष्ठले बताए।

रातो मत्स्येन्द्रनाथको रथारोहणसँगै सुरु हुने यो जात्रा आठ दिन चल्छ। सोही क्रममा आफन्त, साथीभाइ, छोरीचेलीलाई निमन्त्रणा गरी भोज खुवाउने चलन छ।

जात्रा सकिएलगत्तै महालक्ष्मी र महाभैरवको खटबाट लक्ष्मी, कुमार, कुमारी र भैरवलाई महालक्ष्मी मन्दिर प्रवेश गराइने मूल पुजारी श्रेष्ठले बताउनुभयो।  मल्ल राजाले सन्तान रक्षाका हेतुले लुभुको लाछीमा महालक्ष्मी र महाभैरव मूर्ति स्थापना गरी जात्रा चलाएको कथन छ।

प्रकाशित मिति: १३:३४ बजे, बुधबार, वैशाख २८, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्