शान्ति प्रक्रियालाई पूर्णता दिन गठबन्धन : कांग्रेस उपसभापति खड्का
सुर्खेत, बैशाख २७ : नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई विजयी गराउन आग्रह गरेका छन। सुर्खेतका विभिन्न पालिकामा आयोजित छुट्टाछुट्टै आमसभामा...
सुर्खेत, बैशाख २७ : नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई विजयी गराउन आग्रह गरेका छन। सुर्खेतका विभिन्न पालिकामा आयोजित छुट्टाछुट्टै आमसभामा बोल्दै खड्काले गठबन्धनका साझा उम्मेदवारलाई जिताउन अपिल गरेका हुन।
पूर्वगृहमन्त्री समेत रहेका नेता खड्काले कोही कसैलाई पनि गठबन्धनका उम्मेदवारलाई भोट हाल्न आनाकानी नगर्न आग्रह गरे। खड्काले संविधान मास्नेविरुद्ध अहिले पाँच दलीय गठबन्धन बनेको भन्दै संविधानको रक्षाका लागि गठबन्धनको जित आवश्यक रहेको बताए।
नेकपा एमालेको सरकारले जनताका अधिकार मास्ने र प्रतिगमनको यात्रा थालेपछि त्यसविरुद्ध गठबन्धन गरिएको उनले स्पष्ट पारे। खड्काले गठबन्धन शान्ति प्रक्रियालाई पूर्णता दिनका लागि रहेको बताए। कसैलाई जिताउन वा हराउनका लागि नभई संविधान र गणतन्त्रको रक्षा गर्नका लागि गठबन्धन बनाएको उनको भनाइ थियो।
'गिरिजाप्रसाद कोइराला र पुष्पकमल दाहाल प्रचण्डले सुरुआत गरेको शान्ति प्रक्रियालाई पूर्णता दिन आवश्यक छ,' खड्काले भने, 'त्यसैले यो गठबन्धन स्थानीय चुनाव जित्न मात्र होइन शान्ति र विकासका लागि आवश्यक छ।' उनले एमालेका केपी शर्मा ओलीका कारण सुरु गरिएको शान्ति प्रक्रियाले पूर्णता नपाएको भन्दै अब निर्माण हुने गठबन्धनको सरकारले यसलाई पूर्णता दिने बताए।
उनले नागरिकका अधिकार रक्षा र प्रेस स्वतन्त्रताका लागि पनि गठबन्धनले जित्न आवश्यक रहेको औँल्याए। केपी ओलीले जनताका अधिकार मास्ने उद्देश्यले प्रतिगमनको यात्रा थालेपछि त्यसविरुद्ध कांग्रेस, माओवादीलगायतका दल गठबन्धनमा सङ्गठित भएर सङ्घर्षमा होमिएको कार्यकर्तालाई प्रष्ट पारे। 'ओलीको अहंकार, एमालेको प्रतिगमनकारी, गणतन्त्र विरोधी क्रियाकलापलाई परास्त गरी संविधान बचाउनका लागि गठबन्धन गरेका हौँ,' खड्काले भने। खड्काले आजै सुर्खेतको सिम्ता गाउँपालिका, गुर्भाकोट नगरपालिका र पञ्चपुरी नगरपालिकामा आयोजित आमसभालाई सम्बोधन गरेका छन।












