काठमाडौंको फोहोर व्यवस्थापनमा पुनः समस्या
काठमाडौं, वैशाख २७ : काठमाडौं उपत्यकाको १८ स्थानीय तहको फोहोर व्यवस्थापन कार्य पुनः प्रभावित भएको छ।यसअघि फोहर व्यवस्थापन गरिँदै आएको नुवाकोटस्थित सिसडोल भरिएको...
काठमाडौं, वैशाख २७ : काठमाडौं उपत्यकाको १८ स्थानीय तहको फोहोर व्यवस्थापन कार्य पुनः प्रभावित भएको छ।
यसअघि फोहर व्यवस्थापन गरिँदै आएको नुवाकोटस्थित सिसडोल भरिएको र उक्त स्थानमा फोहोर मिलाउने काम भएकाले फोहोर व्यवसथापन गर्न समस्या भएएको काठमाडौं महानगरपालिकाले जनाएको छ।
मङ्गलबारदेखि नियमित फोहोर व्यवस्थापन गरिने कामपा वातावरण विभाग प्रमुख सरिता राईले जानकारी दिइन्। दुई वर्षका लागि भने पनि विगत १५ वर्षदेखि सिसडोलमा नै फोहोर व्यवस्थापन गरी विकल्पको खोजी नगर्दा समस्या आएको प्रमुख राईले बताइन्। यसअघि पनि पटकपटक सिसडोल भरिँदा माटोले पुरेर अन्य फोहोरलाई व्यवस्थापन गरिँदै आएको थियो।
हाल फोहोर व्यवस्थापन भइरहेको स्थानभन्दा दुई किलोमिटर पर बञ्चरेडाँडामा निर्माणाधीन दीर्घकालीन फोहोर व्यवस्थापनस्थलको काम निर्धारित समयमा सम्पन्न हुन नसक्दा पनि समस्या आएको महानगरले जनाएको छ।
हरेक दिन उपत्यकाबाट एक हजार २०० मेट्रिकटन फोहोर सिसडोलमा व्यवस्थापन हुँदै आएको छ। यसमध्ये सबैभन्दा बढी महानगरको ५०० मेट्रिकटन फोहोर निस्किने गर्छ। निजी र महानगरको गरी दैनिक कम्तीमा २०० गाडी फोहोर सिसडोल लैजाने गरिन्छ। (रासस)












